व्यावसायिक भिसा लिएर नेपालमा बसी शंकास्पद् क्रियाकलापनमा संलग्न चार जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ। शुक्रबार अध्यागमन विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेबाट उनीहरूलाई पक्राउ गरेको हो।
सोह्रखुट्टेस्थित मिलीजुली चोक म्हैपीबाट उनीहरूलाई पक्राउ गरेको विभागले जनाएको छ। पक्राउ पर्नेमा तीन जना पुरुष र एक जना महिला छन्। ‘त्यो क्षेत्रमा ठुलो संख्यामा चिनियाँ नागरिक बस्दै आएका छन्। उक्त स्थानलाई चाइनिज हाउजिङका नामले समेत चिनिन्छ,’ अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले भने,‘व्यावसायिक भिसा लिए पनि उनीहरू अन्य काममा संलग्न देखिन्छन्। उनीहरूलाई आफ्नो व्यवसाय, कम्पनीको नाम र सो सम्बन्धमा अन्य कुनै पनि जानकारी भएको देखिन्न।’
पक्राउ परेका चिनियाँ नागरिकहरू विपन्न तथा कमजोर आर्थिक हैसियत भएका नेपाली युवतीलाई प्रलोभनमा पारेर मानव तस्करीको काममा संलग्न भएको विभागले जनाएको छ।
‘नेपाली युवतीहरूलाई जागिरको प्रलोभनमा पारी सामाजिक सञ्जालमा टिकटक बनाउन लगाउने र टिकटकमार्फत अन्य चिनियाँसँग साथी बनाई बिहे गर्न लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रवक्ता ढकालले भने।
यसबाहेक उनीहरूले केही नेपाली युवतीहरूलाई चीनमा लगेर बिहे गर्ने भनी चीन समेत पठाएको जानकारी पनि प्राप्त भएको विभागले जनाएको छ।
ती चिनियाँ नागरिकहरूले म्हैपीमा घर भाडामा लिएरै त्यहाँ नेपाली युवतीहरू राख्ने गरेको पनि खुलेको छ। ‘त्यहाँबाट नेपाली युवतीहरूलाई विभिन्न मुलुकमा साथै लिई अन्य मुलुक भ्रमण गर्ने गरेको पनि देखिन्छ,’ विभागका प्रवक्ता ढकालले भने।
पक्राउ परेकामध्ये दुई जना चिनियाँ नागरिक १० वर्षदेखि नेपालमा पर्यटक, अध्ययन र व्यावसायिक भिसा लिएर बस्दै आएको पाइएको छ। यस्तै भिसा जाँच गर्दा उनीहरूबाट पासपोर्ट र भिसा देखाउन नसकेको पनि विभागले जनाएको छ। जाँचकै क्रममा उनीहरूले अध्यागमनका कर्मचारी र सुरक्षाकर्मीहरूलाई आक्रमण समेत गरेका थिए।
उनीहरूमाथि अध्यागमन कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ। पक्राउ परेका चारै जनाको नाम थर भने विभागले गोप्य राखेको छ।
प्रकाशित: २८ कार्तिक २०८२ १८:४२ शुक्रबार