मुस्ताङ आउने विदेशी पर्यटक बढेका छन्। गत आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ८१ दशमलव ८४ प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
कार्यालयका अनुसार चालु आवको जेठसम्म मुस्ताङमा दुई लाख ४४ हजार ८८० विदेशी पर्यटकले भ्रमण गरेका छन् भने गत आवको सोही अवधिमा एक लाख ३४ हजार ६६४ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए।
यसवर्ष भारतीय पर्यटकको आगमन अत्यधिक रहेको जनाइएको छ। छिमेकी मुलुक भारतमा चर्को गर्मी छल्न तथा धार्मिक हिसाबले पनि मुक्तिनाथ आउनेहरु बढेकाले मुस्ताङमा विदेश पर्यटक आगमन बढेको हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ईश्वर महतका अनुसार चालु आवको जेठमा मात्रै ९० हजार ९३९ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। जसमध्ये ९० प्रतिशत बढी भारतीय पर्यटक नै रहेको प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो। गतवर्षको जेठमा २४ हजार ३७२ जना विदेशी पर्यटक मुस्ताङ आएका थिए।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आव २०८०/८१ मा ९९ हजार ३९९ जना र आव २०८१/८२ मा एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ आएका थिए।
प्रकाशित: ८ असार २०८३ २०:४४ सोमबार



