समाज

बाल संवेदनशील पत्रकारितामा जोड, १३ सदस्यीय बालमैत्री पत्रकार समूह गठन

पत्रकारितामार्फत् बालबालिकाको विषय उठान गर्दा उनीहरूको सर्वोत्तम हितलाई सधैं माथि राख्नुपर्नेमा जोड दिइएको छ। ललितपुरको गोदावरीमा मंसिर ८ र ९ गते सञ्चालन भएको  ‘बाल संवेदनशील पत्रकारिता’ विषयक अभिमुखीकरण कार्यक्रमका सहभागी तथा वक्ताले उक्त जोड दिएका हुन्।

बाल अधिकारको संरक्षण र संवर्द्धनमा सञ्चारमाध्यमको भूमिकालाई केन्द्रमा राखेर छलफल तथा अभिमुखीकरण गरिएको थियो। वक्ताहरूले जोखिममा रहेका बालबालिकालाई थप मनोवैज्ञानिक आघातबाट जोगाउन पत्रकारको भूमिका रहने भएकाले पत्रकार र सञ्चारमाध्यम थप संवेदनशील हुनुपर्ने बताएका थिए।

बालबालिकाको सर्वोत्तम हित, गोपनीयता र सुरक्षा सुनिश्चित गर्दै पत्रकारितालाई अझ मर्यादित र संवेदनशील बनाउने उद्देश्यले आयोजित अभिमुखीकरणमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) नेपालका अध्यक्ष तिलोत्तम पौडेलले नेपालमा बालबालिकाको अवस्था, बाल अधिकारका आधारभूत सिद्धान्त, बाल संरक्षण प्रणाली, विपद्मा बालबालिकामा परेको प्रभाव तथा सञ्चारकर्मीले उठाउनुपर्ने सवालबारे प्रस्तुतीकरण दिएका थिए। बालबालिकासम्बन्धी नीतिगत व्यवस्था, दिगो विकास लक्ष्य र स्थानीय तहमा रहेका बाल संरक्षण प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए।

उनले दिगो विकासका १७ लक्ष्यमध्ये लक्ष्य १, २, ३, ४, ५, ६, ९, ११, १६ र १७ गरी १० वटा लक्ष्य बालबालिकासँग प्रत्यक्ष सम्बन्धित रहेको बताउँदै राष्ट्रिय योजना तथा कार्यक्रममा बालबालिकाका सवाललाई प्राथमिकता दिन आवश्यक रहेको जिकिर गरे। पौडेलले सोह्रौँ योजनामा बालबालिकासम्बन्धी समावेश गरिएका परिमाणात्मक लक्ष्य, स्थानीय शासन कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०८२ तथा बालबालिकाको क्षेत्रमा भएका उपलब्धिलाई पनि महत्त्वका साथ कार्यान्वयन गर्नुपर्ने बताए।

बालबालिकाका सवालमा बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागितालाई चार प्रमुख आधारका रूपमा लिनुपर्ने उनको भनाइ छ। साथै बालबालिकाको तथ्यांक व्यवस्थापन, बाल संरक्षण संयन्त्र तथा बालबालिकासम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिगत एवं कानुनी दायित्व र प्रतिबद्धता कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए।

विशेषगरी भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रत्यक्ष प्रभावित ६ जिल्लाका बालबालिकाको अवस्थालाई उनले बाल संरक्षणको महत्त्वपूर्ण सवालका रूपमा प्रस्तुत गरे।

बाढीका कारण बालबालिकामा परेको प्रभाव, उनीहरूको मानवीय अवस्था, जोखिममा रहेका बालबालिकाको पहिचान र आवश्यक सेवाको उपलब्धतामा राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ। बालबालिका जोखिममा परेको अवस्थामा स्थानीय तहमा रहेका बाल संरक्षण प्रणाली सक्रिय हुनुपर्ने र सम्बन्धित सबै निकायबीच समन्वय आवश्यक रहेको उनले बताए।

यस्तै, सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेतले बालबालिकासम्बन्धी समाचारमा संवेदनशीलता किन आवश्यक छ भन्ने सन्दर्भमा बालबालिकाको मर्यादा, गोपनीयता र मनोवैज्ञानिक सुरक्षाको रक्षा गर्दै जिम्मेवार पत्रकारिता गर्नुपर्ने आवश्यकता औँल्याइन्। उनले बालिका र किशोरीका सवालमा लैंगिक उत्तरदायीमा पत्रकारिताको भूमिका हुनु पर्ने

बताइन्। साथै, उनले भेदभावरहित बालापन हुनुपर्ने र यसका लागि अपनाउनुपर्ने व्यवहारका बारेमा घरपरिवार सबै जिम्मेवार हुनुपर्ने जिकिर गरिन्। यस्तै, वरिष्ठ सञ्चारकर्मी बस्नेतको सञ्चर माध्यम तथा पत्रकारले पीडित केन्द्रित समाचारभन्दा पनि पीडक केन्द्रित समाचारलाई प्राथमिकतामा राख्नुपर्ने भनाइ छ।

यसैगरी, कार्यक्रममा सामुदायिक सूचना नेटवर्क सीआईएन अकोराबका सम्पादक लिलप्रकाश चन्दले बालबालिकालाई केवल पीडित वा असहाय पात्रका रूपमा मात्र नदेखाई समाधानमुखी र जवाफदेही पत्रकारिता गर्नुपर्नेमा जोड दिए। उनले सबल पक्षको पहिचान र सकारात्मक सोचको विकासका बारेमा अभिमुखीकरण दिएका थिए।

उनले प्रशंसनीय खोज पद्धतीमा आधारित समाचार लेखन तथा संकलन गर्नुपर्नेमा जोड दिए।

सोही क्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पनि बालबालिकाको गोपनीयता र मर्यादाको सम्मान गर्दै पत्रकारले बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकतामा राखेर रिपोर्टिङ गर्नुपर्ने विषयमा जोड दिए। उनले डिजिटल पत्रकारिताका विषयमा अभिमुखीकरण दिएका थिए।

अभिमुखीकरणको अवसरमा नागरिक दैनिककी पत्रकार सुभद्रा धितालको संयोजकमा १३ सदस्यीय ‘बालमैत्री पत्रकार समूह’ समेत गठन गरिएको छ। यसैगरी, सह–संयोजकमा रातोपाटीका पत्रकार नरेन्द्र रौले चयन भएका छन् भने समूहको सदस्यहरूमा उमा शर्मा, विनोद देवकोटा, क्रिषला भण्डारी, शिव गौतम, सपना बोहरा, सुरेशप्रसाद सैँजु, पवित्रा मुडभरी, मनिषा बस्नेत, टोपेन्द्र रोकामगर, सत्यराज भट्ट र दानिस राज अन्सारी चयन भएका छन्।

सो क्रममा पत्रकारहरूले पत्रकारितामार्फत् बालबालिकाको विषय उठान गर्ने र उनीहरूको सर्वोत्तम हितलाई सधैं माथि राखेर समाचार लेखन गर्ने प्रतिबद्धता जनाएका थिए। उनीहरूले जोखिममा रहेका बालबालिकालाई थप मनोवैज्ञानिक आघातबाट जोगाउन पत्रकारको भूमिका रहने विषयमा गाम्भीर्यता पकट गरेका थिए।

सिजप नेपाल, सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब र प्लान इन्टरनेसनल सहकार्यमा सम्पन्न अभिमुखीकरणमा ३९ जना पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूको ४ वटा समूह बनाएर बालअधिकार संरक्षण र संवर्द्धनका लागि बाल संवेदनशकफल पत्रकारिता विषयमा छलफल गरिएको थियो।  

साथै, सहभागी पत्रकारहरूले आफ्नो पेसागत मर्यादाको ख्याल राखेको बालबालिकासँग सम्बन्धित रिपोर्टिङ गर्दा उनीहरूको मर्यादा, गोपनीयता र सुरक्षामा आँच आउन दिन नहुनेमा एक मत राखेका थिए।

प्रकाशित: ९ मंसिर २०८३ २०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App