समाज

बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित: कतै पूर्ण ठप्प, कतै रात्रिकालीन यात्रामा रोक

फाइल।

अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेश जोड्ने प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्।

नेपाल प्रहरीले सोमबार अपराह्न ४ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा पूर्ण तथा आंशिक अवरोध हुनुका साथै केही संवेदनशील सडकमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।

बागमती प्रदेशअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ लिपिङमा गएको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी सडक खण्ड पनि बाढीका कारण लामो समयदेखि पूर्ण रूपमा ठप्प छ।

बाढी-पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै बागमतीका तीन प्रमुख सडकमा रात्रिकालीन यात्रामा रोक लगाइएको छ। वि.पि. राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी आवागमन निषेध गरिएको छ भने दिनको समयमा परिस्थितिको मूल्याङ्कन गरी मात्र गाडी चलाउन दिइएको छ।

कान्तिलोकपथको हेटौंडा-ठिङ्गन-बागमती-ललितपुर खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म र टोखा-छहरे सडक खण्डको नुवाकोट शिवपुरी-८ घट्टेखोलामा राति १० बजेदेखि बिहान ५ बजेसम्म अर्को सूचना नभएसम्मका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ।

उता कोशी प्रदेशको मेची राजमार्गअन्तर्गत ईलाम नगरपालिका-९ राजदुवालीस्थित झापा-ताप्लेजुङ सडक खण्ड अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ। उक्त स्थानमा वैकल्पिक सडकमार्फत सवारी साधन सञ्चालनको व्यवस्था मिलाइएको छ।

यस्तै, मध्य पहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका-५ बोखिममा बाढीका कारण अवरुद्ध सडक हाल वैकल्पिक मार्गसहित एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

गण्डकी र कर्णाली प्रदेशका रणनीतिक सडकहरूमा पनि अवरोध कायमै छ। कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको जैमिनी नगरपालिका-८ बेलबगरमा पहिरो खसेपछि सडक हाल एकतर्फी मात्र सञ्चालनमा रहेको र दुईतर्फी खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ।

कर्णाली प्रदेशअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्डको रुकुम पश्चिम, आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा आएको बाढीका कारण यातायात पूर्ण रूपमा बन्द रहेको छ।

प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेको जनाउँदै यात्रामा निस्कनुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त सडकमा सावधानीपूर्वक यात्रा गर्न यात्रु तथा चालकहरूलाई आग्रह गरेको छ।

प्रकाशित: ९ भाद्र २०८३ १६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App