समाज

डोल्पाको गैरीगाउँमा बाढीको विपत्ति : एक जनाको मृत्यु, १० घरमा क्षति

डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँस्थित धुलाखोलामा अविरल वर्षापछि आएको हिलोसहितको बाढीले जनधनको क्षति पुर्याएको छ।

बाढीमा परेर एक जनाको मृत्यु भएको छ भने १० घरमा क्षति पुगेको छ।

बाढीले घरहरूमा हिलो र लेदो पस्दा स्थानीयवासी प्रभावित भएका छन्। बाढीमा पुरिएकी करिब ५५/५६ वर्षीया आनन्दा विकलाई स्थानीयवासी र नेपाल प्रहरीले उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याँकोट लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा चार जना घाइते भएका छन्। घाइतेमध्ये ४४ वर्षीया रेउली विकको कम्मरमुनिको भाग नचल्ने अवस्था देखिएकाले थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ।

अन्य तीन जना सामान्य उपचारपछि घर फर्किएका छन्। साथै आफन्तको मृत्यु र घरमा क्षति पुगेको घटनापछि बेहोस भएका दुई जनाको उपचारपछि अवस्था सामान्य भई उनीहरू पनि डिस्चार्ज भएका छन्।

प्रारम्भिक विवरणअनुसार नविन विकको घर पूर्ण रूपमा क्षति भएको छ भने सेतु विक, राजेन्द्र विक, मिनराज विक, नैनसिंह विक, रातो विक, रेउली विक, आनन्दा विक, ढोली कामी र संगीता बुढाका घरमा आंशिक क्षति पुगेको जनाइएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय डोल्पा, इलाका प्रहरी कार्यालय काइगाउँ, अस्थायी प्रहरी पोस्ट हुरिकोट, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको टोलीसमेत उद्धार तथा राहत कार्यमा परिचालन गरिएको छ।

प्रहरीका अनुसार प्रभावित क्षेत्रको थप क्षतिको विवरण संकलन गर्ने, प्रभावित परिवारको अवस्थाबारे जानकारी लिने तथा आवश्यक उद्धार र राहत समन्वयको कार्य जारी रहेको छ।

प्रकाशित: २१ असार २०८३ १५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App