बर्दिया निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका एक युवकको मृत्यु आशंका गरिएको छ भने पाँच जना अझै सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। सुर्खेत प्रहरीका अनुसार फागुन २३ गते सिकार खेल्न गएका पाँच जनाको अवस्था सम्पर्कविहीन भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बराहताल गाउँपालिका–२ का आसे महतराले आफ्ना साला नाता पर्ने सोही स्थानका ३३ वर्षीय टोपबहादुर खत्री सिकार खेल्न गएका क्रममा मृत्यु भएको जानकारी प्रहरीलाई दिएका छन्। प्रहरीका अनुसार खत्री फागुन २३ गते केही साथीसहित घरबाट करिब १७ किलोमिटर दक्षिणतर्फ पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ सिकार खेल्न गएका थिए। त्यसपछि उनी घर फर्किएनन्। पछि सँगै गएका व्यक्तिमध्ये एक जना सुनिल समसेलीकी आमा मार्फत खत्रीको मृत्यु भएको खबर आएको बताइएको छ।
एक जनाको मृत्यु र सम्पर्कविहीन भएको खबर आएपछि सोमबार (आज) विहानदेखि प्रहरी चौकी रानीघाटबाट प्रहरी टोली घटनास्थल तर्फ खटिएको छ। घटनास्थल सुर्खेतबाट करिब १७ किलोमिटर दक्षिणतर्फ पर्ने बर्दिया जिल्ला क्षेत्रभित्र पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय बर्दियासँग पनि समन्वय गरी खोजी तथा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंग बुढथापाले बताए।
टोपबहादुर खत्री सँगै सिकार खेल्न गएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूमा सुर्खेत बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रबिलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ति, ३० वर्षीय सुनिल समसेली तथा सुर्खेत लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दियामा बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका प्रहरीले जनाएको छ।
घटनाको वास्तविकता पत्ता लगाउन प्रहरी टोली घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २ चैत्र २०८२ ११:३० सोमबार