भारीदेखि अति भारी वर्षाको सम्भावना बढेसँगै दाङका पाँच सडकखण्डमा रातिको समयमा यातायात सञ्चालन बन्द गरिने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम विज्ञान विभागले असोज ८ देखि ११ गतेसम्म नेपालको धेरै भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरोध हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले असोज ८ गतेदेखि लागू हुने गरी हरेक दिन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म ती सडकखण्ड बन्द गर्ने निर्णय गरेको हो।
प्रशासनका अनुसार राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्ड रातिको समयमा बन्द हुनेछ।
त्यस्तै, भालुवाङ–चकचके सडकखण्डअन्तर्गत भालुवाङदेखि गनाहा खोलासम्म, सहिद मार्गअन्तर्गत घोराही–होलेरी र घोराही–मुर्कुटी सडकखण्डमा पनि रातिको समयमा यातायात सञ्चालनमा रोक गरेको हो।
तुलसीपुर–सुर्खेत सडकखण्डअन्तर्गत तुलसीपुरदेखि कालीमाटीसम्मको सडकमा पनि बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म आवागमन बन्द गरिने प्रशासनले जनाएको छ।
सम्भावित बाढी, पहिरो तथा सडक अवरोधबाट हुने जोखिम न्यूनीकरणका लागि सडक बन्द गर्ने निर्णय गरिएको हो। प्रशासनले सम्बन्धित सबैलाई जोखिमयुक्त समयमा उक्त सडकखण्डमा यात्रा नगर्न तथा जारी गरिएको सूचनाको पालना गर्न आग्रह गरेको छ।
प्रकाशित: ८ आश्विन २०८३ १५:१४ बिहीबार