समाज

यता होस्टेलमा छोराको ह’त्या, उता वियोगमा आमाको मृत्यु, दुई शव बुझ्न परदेशबाट फर्किँदै बाबु

वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जाने तयारीमा दाङबाट काठमाडौं आएका २२ वर्षीय वसन्त कालाथोकी अब कहिल्यै घर फर्किने छैनन्।

साथीहरूसँगको सामान्य भनाभन र विवाद बढ्दै जाँदा शुक्रबार बिहान शंखमुलस्थित होस्टेलभित्रै चक्कु प्रहारबाट उनको ज्यान गयो।

काठमाडौंमा जेठो छोराको हत्या भएको खबर गाउँ पुगेको केही बेरमै दाङमा आमाले पनि संसार त्यागिन्। उता परिवार पाल्न मलेसियामा रहेका बाबु रोमहर्ष कालाथोकी सोमबार घर फर्किँदैछन्- छोरा र श्रीमतीको शव एकैसाथ बुझेर दागबत्ती दिनका लागि।

घटनाको पृष्ठभूमि हेर्दा कुनै पुरानो रिसइबी वा ठूलो शत्रुता देखिँदैन। दाङको घोराही उपमहानगरपालिका-१७ का वसन्त ६ महिनादेखि काठमाडौं महानगरपालिका-१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलको तेस्रो तल्लामा रहेको कोठा नम्बर १०९ मा बस्दै आएका थिए।

त्यही होस्टेलमा बारा कलैयाका १९ वर्षीय शेखर यादव र प्रमित पटेल पनि बस्थे। उनीहरू पनि विदेश जाने प्रक्रियाकै लागि होस्टेल बसेकाले सँगै उठबस र खानपिन हुन्थ्यो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बिहीबार साँझ वसन्त, शेखर र प्रमितसहितका साथीहरू शंखमुलकै एक रेस्टुरेन्टमा मदिरा पिउन गएका थिए।

राति ११ बजेसम्म खानपिन गर्ने क्रममा उनीहरूबीच सामान्य विवाद भयो र हात हालाहालसमेत भयो। त्यतिबेला वसन्तले उनीहरूमाथि हात हालेका थिए।

रेस्टुरेन्टबाट फर्किएपछि राति कुरा साम्य भएजस्तो देखिए पनि भोलिपल्ट बिहान त्यसले बीभत्स रूप लियो। शुक्रबार बिहान करिब १०:१० बजे शेखर र प्रमित चक्कु लिएर सीधै तेस्रो तल्लामा रहेको वसन्तको कोठामा पुगे।

कोठामा बसिरहेका वसन्तमाथि सुरुमा टी-टेबलले टाउकोमा प्रहार गरियो र त्यसलगत्तै उनीहरूले अन्धाधुन्ध चक्कु हाने। कोठामा रहेका अरू दुई साथीले रोक्न खोज्दाखोज्दै २० सेकेन्डभित्रै वसन्तलाई रक्ताम्य बनाएर उनीहरू भागे।

होस्टेलको प्यासेजमा छटपटाइरहेका वसन्तलाई तत्कालै मीनभवनस्थित सिभिल अस्पताल पुर्‍याइएको थियो तर अत्यधिक रक्तस्रावका कारण दिउँसो १२ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे।

काठमाडौंमा वसन्तको मृत्यु भएको खबर दाङको घोराही पुग्दा उनकी ३८ वर्षीया आमा बिना कालाथोकी सम्हालिन सकिनन्। जेठो छोराको हत्या भएको खबरले विक्षिप्त बनेकी उनले केही समयमै आफ्नै घरमा झुन्डिएर आत्महत्या गरिन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डा. हेमबहादुर केसीका अनुसार छोराको विछोडको पीडा सहन नसकेर आमाले आत्महत्या गरेकी हुन्। बिनाको शव अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ र मलेसियाबाट बाबु रोमहर्ष आएपछि मात्रै आमा-छोरा दुवैको अन्त्येष्टि गरिने भएको छ।

घटनालगत्तै नयाँ बानेश्वर वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान सुरु गरेको थियो। हत्यामा संलग्न शेखर यादवलाई प्रहरीले शुक्रबार बिहानै काठमाडौंबाट नियन्त्रणमा लियो भने भागेका अर्का आरोपी प्रमित पटेललाई मकवानपुरको भैँसेबाट पक्राउ गरियो।

यस्तै, घटनाको समयमा लापरबाही देखिएको भन्दै होस्टेल सञ्चालक महोत्तरीका २३ वर्षीय आलोक ठाकुरलाई पनि बुद्धनगरबाट पक्राउ गरिएको छ।

परिसरका प्रवक्ता एवं एसपी दानबहादुर थापाका अनुसार तीनै जनाविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ।

शंखमुल घटनापछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजी होस्टेलहरूलाई व्यवस्थित र सुरक्षित बनाउन २१ बुँदे कडा निर्देशन जारी गरेको छ।

अबको एक महिनाभित्र सबै होस्टेलले सञ्चालक तथा वार्डेनको विवरण प्रहरीमा बुझाउनुपर्ने, सीसीटीभी अनिवार्य जडान गर्नुपर्ने र होस्टेल हाताभित्र मदिरा तथा चुरोट पूर्ण रूपमा निषेध गर्नुपर्ने नियम बनाइएको छ।

प्रकाशित: ७ भाद्र २०८३ १९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App