समाज

सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा: सुरक्षामा ३० हजार सुरक्षाकर्मी

सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ।

बिहीबार बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि कर्मचारी र सुरक्षाकर्मी आ-आफ्नो कार्यक्षेत्रमा तैनाथ भइसकेका छन्।

अहिले मतदान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ। प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टका अनुसार १६ वटै निर्वाचन क्षेत्रका २ हजार १९९ मतदान केन्द्रमा मतपत्र, मतपेटिकासहितका सामग्री र कर्मचारी सोमबार नै पुगिसकेका छन्।

‘बिहीबार बिहान ७ बजेदेखि हुने मतदानका लागि प्राविधिक तथा व्यवस्थापकीय सबै तयारी पूरा भएको छ,’ भट्टले भने।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन प्रदेशभर ३० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले मतदान स्थलको सुरक्षा संवेदनशीलताका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाली सेनाको एकीकृत टोली खटाइएको जानकारी दिए।

सुरक्षा अधिकारीहरूका अनुसार प्रदेशभर ७ हजार ९८ नेपाल प्रहरी र १३ हजार ६४७ म्यादी प्रहरी कार्यक्षेत्रमा खटिएका छन्।

यस्तै, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाका निमित्त प्रमुख एवं वरिष्ठ उपरीक्षक (एसएसपी) दिग्विजय सुवेदीले ५ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको बताए।

नेपाली सेनाको सुदूरपश्चिम पृतनाले पनि ५ हजारभन्दा बढी सैनिकलाई चुनावी सुरक्षामा उतारेको छ।

प्रदेशका ९ जिल्लामा कुल १७ लाख १६ हजार ६ सय ६० मतदाताले मताधिकार प्रयोग गर्दै छन्। सुदूरपश्चिममा पुरुषभन्दा महिला मतदाताको संख्या बढी छ।

आयोगका अनुसार ८ लाख ६४ हजार ४२३ महिला, ८ लाख ५२ हजार २१९ पुरुष र १८ जना अन्य मतदाता छन्। प्रदेशभर १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्र निर्धारण गरिएको छ।

सबैभन्दा बढी मतदाता कैलाली जिल्लामा छन्। ५ निर्वाचन क्षेत्र रहेको कैलालीमा ५ लाख ५१ हजार ५२ मतदाताका लागि २३७ मतदान स्थल र ६४१ केन्द्र तोकिएको छ। ३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ३ लाख १४ हजार ३८५, २ क्षेत्र रहेको अछाममा १ लाख ६५ हजार ३३७ र बैतडीमा १ लाख ५६ हजार ३७२ मतदाता छन्।

त्यस्तै, डोटीमा १ लाख २८ हजार ३९९, बझाङमा १ लाख २६ हजार ९०३, डडेलधुरामा ९३ हजार ४०३, दार्चुलामा ९२ हजार ९४८ र बाजुरामा ८७ हजार ८६१ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ १६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App