समाज

भूतपूर्व सैनिक सम्मेलन सुरु

“सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन” भन्ने मूल सन्देशसहित भूतपूर्व सैनिक सम्मेलन–२०८२ सुरु भएको छ। बुटवलस्थित मुख्य सम्मेलन केन्द्र, मध्य पश्चिम पृतना हेडक्वाटरमा आयोजित कार्यक्रमको उद्घाटन प्रधान सेनापति अशोक राज सिग्देलले गरेका थिए।

लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा एकसाथ सञ्चालन भएको पहिलो चरणको सम्मेलनले अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन गराउनुका साथै उनीहरूको कल्याण र कोषको दिगोपनमा जोड दिएको छ।

सम्मेलनको उद्देश्य अवकाश प्राप्त सैनिकहरूसँग निरन्तर सम्पर्क कायम राख्ने, कल्याणकारी कार्यका लागि सुझाव सङ्कलन गर्ने तथा सेवा–सुविधामा गुणात्मक सुधार ल्याउने रहेको छ। साथै, अवकाशपछिको जीवनलाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने लक्ष्यसमेत राखिएको छ।

कार्यक्रममा भूतपूर्व सैनिकहरूले मार्चपास तथा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। नेपाली सेना कल्याणकारी बोर्डको समन्वयमा सम्पन्न कार्यक्रममा ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिलालाई सम्मान गरिएको थियो। साथै उत्कृष्ट उद्यमीहरूलाई प्रशंसा–पत्र र पुरस्कार प्रदान गरिएको छ।

त्यसैगरी, फरक क्षमता भएका तथा अशक्त १८ जना भूतपूर्व सैनिकहरूलाई व्हिलचेयर तथा बैसाखी वितरण गरिएको छ।

तीन चरणमा सञ्चालन हुने सम्मेलनको दोस्रो चरण चैत्र २५ गते पश्चिम पृतना अन्तर्गतका जिल्लाहरूमा तथा तेस्रो चरण २०८३ वैशाख ३ र ४ गते मध्य पूर्वी पृतना अन्तर्गतका जिल्लाहरूमा आयोजना हुने कार्यक्रम रहेको छ।

प्रकाशित: २२ चैत्र २०८२ १९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App