समाज

सरकार फेरिए पनि युवाको गन्तव्य उही विदेश

नेपाली युवाको वैदेशिक रोजगारीप्रतिको आकर्षण अझै घटेको छैन, उस्तै छ। स्वदेशमै अवसरको आशा कमजोर देखेपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा उल्लेख्य कमी आउन सकेको छैन।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत चैत ११ देखि यही वैशाख १३ सम्म मात्रै ६२ हजार २६५ नेपाली रोजगारीका लागि विभिन्न देश पुगेका छन्। जसमा पुरुष ५५ हजार २७२ र महिला ६ हजार ९९३ जना छन्। उनीहरू श्रम स्वीकृति लिएर बिदेसिएको विभागको तथ्यांक छ। औसतमा हरेक महिना ६० देखि ६५ हजार हाराहारीमा नेपाली रोजगारीका लागि बिदेसिने क्रम जारी छ।

पछिल्लो समय पश्चिम एसियामा देखिएको द्वन्द्वका कारण गत फागुन १७ देखि यही वैशाख ७ सम्म खाडी तथा पश्चिम एसियाका १२ देशमा श्रम स्वीकृति दिन अस्थायी रूपमा रोकिएको थियो। यस्तो अवरोधबिच पनि वैदेशिक रोजगारीमा जानेको संख्या नघट्नुले समस्या संरचनागत रहेको देखाउँछ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को (साउनदेखि चैत) नौ महिनामा वैदेशिक रोजगारीका लागि ५ लाख ८७ हजार ३४० जनाले श्रम स्वीकृति लिएका छन्। जसमध्ये पुरुषको संख्या ५ लाख १७ हजार ९३६ र महिलाको संख्या ६९ हजार ४०४ छ। यो तथ्यांकले वैदेशिक रोजगारीप्रति नेपाली युवाको आकर्षण अझै नघटेको देखाउँछ।

चालु आबको नौ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमा कात्तिकमा सबैभन्दा धेरै र फागुनमा सबैभन्दा कम छन्। कात्तिकमा ७३ हजार ९४ जनाले र फागुनमा ५२ हजार ९४४ जनाले श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिने संख्या सबैभन्दा धेरै कात्तिकमा हुनुको प्रमुख कारण मुख्य चाडपर्व सकिएलगत्तै कामको खोजीमा निस्कनु हो।

नयाँ सरकार गठनपछि पनि दैनिक औसत करिब २ हजार ७५ नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन्, जुन गत आर्थिक वर्ष २०८१/८२ को दैनिक औसत २ हजार २ सय ९९ कै हाराहारीमा देखिन्छ। यसले वैदेशिक रोजगारीप्रतिको निर्भरता घट्न नसकेको स्पष्ट पार्छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेका अनुसार देशमा भन्दा विदेशमा रोजगारीको अवसर राम्रो देखेपछि युवा बिदेसिएका हुन्। देशमा कलकारखाना प्रायः ठप्प छन्। केही व्यापार व्यवसाय गरौं भन्नेको पनि हातमा पुँजी छैन। यसले पनि बिदेसिनेको संख्या नघटेको हो । इरान–अमेरिका तनावले विश्व श्रम बजारमा असर पारिरहेको छ। उक्त तनावका कारण केही श्रमिक गन्तव्य देशले कम मात्रामा श्रमिक माग गरे पनि अवसर पाउँदा युवाको लर्को लाग्ने गरेको घिमिरे बताउँछन्।

‘पश्चिम एसियामा देखिएको तनावका कारण विश्व बजार नै प्रभावित भएको थियो,’ घिमिरेले भने, ‘कतिपय श्रमिक गन्तव्य देशले अस्थायी रूपमा श्रमिक भर्ना प्रक्रिया रोकेका पनि थिए। अहिले प्रायः सबै देशले श्रमिक लैजान सुरु गरेपछि बिदेसिनेको संख्या बढ्ने नै भयो।’

अर्थ मन्त्रालयले समेत स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गरी बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै आएको छ।

नयाँ सरकार आएसँगै अन्य काम छिटो भए पनि युवालाई स्वदेशमै रोक्ने विषयमा द्रुत गतिमा काम हुन नसकेको श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाल बताउँछन्। ‘नयाँ सरकार आए पनि वैदेशिक रोजगारीको परनिर्भरता घटाउनेतर्फ काम हुन सकेको छैन। वैदेशिक रोजगारीका लागि बिदेसिनको संख्या घटाउनेतर्फ त्यस्तो केही रणनीति बनेको छैन।’ वैदेशिक रोजगारीमा जाने संख्या स्थिर वा बढ्दो रहनुले राज्यप्रतिको भरोसा कमजोर भएको उनी बताउँछन्।

सरकारले सुशासन र परिवर्तनको नारा अघि सारे पनि स्वदेशमै रोजगारी सिर्जना गर्न कुनै पनि कार्य अघि बढाएको छैन। जसले गर्दा युवा बिदेसिने लहर बढिरहेको छ। देशमा रोजगारीको क्षेत्र फराकिलो नभएसम्म युवाले विदेशी भूमिमा गएर निरन्तर पसिना बगाउनुपर्ने बाध्यता कायमै रहने देखिन्छ।

प्रकाशित: १८ वैशाख २०८३ ११:३३ शुक्रबार