समाज

एल निनो प्रभाव : आगामी वर्ष विश्वकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना

प्रशान्त महासागरमा विकसित भइरहेको एल निनो घटना अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने बेलायतको मौसम कार्यालयले चेतावनी दिएको छ। यो शक्तिशाली प्राकृतिक जलवायु घटनाले विश्वको तापक्रम बढाउने मात्र होइन, चरम मौसमी घटनाको जोखिम पनि बढाउन सक्ने मौसम कार्यालयले शुक्रबार जनाएको छ।

विश्वका विभिन्न भागमा मौसमको स्वरूपमा यसको प्रभाव देखिन थालेको प्रमाण बढ्दै गएको छ। भारतलगायत दक्षिण एसियामा मनसुनको वर्षा औसतभन्दा कम हुनु र एटलान्टिक महासागरमा आँधीको गतिविधि कमजोर हुनुमा एल निनोको प्रभाव रहेको वैज्ञानिकहरूले बताएका छन्। वैज्ञानिकका अनुसार जलवायु परिवर्तनले एल निनोको संख्या वा शक्ति बढाइरहेको स्पष्ट प्रमाण भने छैन। विश्व पहिलेभन्दा तातो भइरहेकाले एल निनोका कारण हुने मौसमी प्रभाव भने अझ गम्भीर बन्न सक्छ।

वैज्ञानिकहरूले सामान्यतया प्रशान्त महासागरको एउटा महत्वपूर्ण क्षेत्रमा समुद्रको सतहको तापक्रम दीर्घकालीन औसतभन्दा ०.५ डिग्री सेल्सियस वा बढी बढेपछि एल निनो घोषणा गर्छन्। हालको मापनअनुसार उक्त क्षेत्रको तापक्रम सामान्यभन्दा २ डिग्री सेल्सियसभन्दा बढी माथि पुगेको छ।

बेलायतको मौसम कार्यालयको पछिल्लो पूर्वानुमानअनुसार यस वर्षको अन्त्यतिर एल निनो चरम अवस्थामा पुग्दा तापक्रम सामान्यभन्दा ३ डिग्री सेल्सियसभन्दा बढी हुन सक्नेछ।

मौसम कार्यालयका अनुसार यो सन् १९५० पछिका अभिलेखमा अभूतपूर्व हुन सक्ने र सम्भवतः १९औँ शताब्दीयताकै सबैभन्दा शक्तिशाली एल निनो हुन सक्नेछ।

समुद्रको गहिराइमा रहेको अत्यधिक तातो पानीले यस घटनालाई थप शक्तिशाली बनाउन सक्ने वैज्ञानिकहरूको भनाइ छ। केही स्थानमा समुद्रको करिब १०० मिटर गहिराइमा पानी सामान्यभन्दा ८ डिग्री सेल्सियससम्म तातो रहेको पाइएको छ।

अमेरिकी अनुसन्धान संस्था बर्कले अर्थका जलवायु वैज्ञानिक डा. जेक हाउसफादरले यो घटना अझै धेरै महिनासम्म विकास हुने क्रममा रहेको बताएका छन्। त्यसैले यो कीर्तिमानी घटना बन्ने विश्वास बढेको उनको भनाइ छ।

केही अन्य जलवायु संस्थाहरूले एल निनो सामान्यभन्दा ४ डिग्री सेल्सियससम्म बढी तातो हुन सक्ने अनुमान गरेका छन्। यस्तो भएमा यो पछिल्ला केही सय वा एक हजार वर्षयताकै सबैभन्दा शक्तिशाली एल निनो हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ।

जलवायु परिवर्तनले एल निनोलाई अझ शक्तिशाली बनाएको विषयमा अझै स्पष्ट भइसकेको छैन। तर जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसीसी) को सन् २०२१ को प्रतिवेदनले सन् १४०० आसपासको अवधिसँग तुलना गर्दा सन् १९५० यताका एल निनो घटनाको तीव्रता बढेको देखाएको थियो।

तर हजारौँ वर्षको इतिहास हेर्दा एल निनोको शक्ति प्राकृतिक रूपमा धेरै उतारचढाव हुने भएकाले पछिल्लो वृद्धि विश्व तापक्रम वृद्धिसँग मात्र जोड्न कठिन हुने वैज्ञानिक बताउँछन्। तर एउटा कुरा स्पष्ट छ, अहिले एल निनो पहिलेभन्दा तातो भइरहेको पृथ्वीको पृष्ठभूमिमा विकसित भइरहेको छ। त्यसैले यसको मौसमी प्रभाव अझ गम्भीर हुन सक्छ।

विश्वभर पर्न सक्ने सम्भावित प्रभाव

समुद्रमा तापको वितरण र वायुमण्डलको हावाको ढाँचामा हुने परिवर्तनले विश्वभरको मौसममा व्यापक असर पार्न सक्छ।

यद्यपि, हरेक एल निनो एउटै खालको हुँदैन। यसको प्रभाव क्षेत्रअनुसार फरक हुन्छ। तर सन् २०२६ मा दक्षिण एसियाली मनसुनमा यसको प्रभाव देखिन थालेको वैज्ञानिकहरूले बताएका छन्। एल निनो भएका वर्षमा दक्षिण एसियाली मनसुन कमजोर हुने सम्भावना हुन्छ। यस वर्ष भारतमा मनसुनको वर्षा सामान्यभन्दा कम भइरहेको छ।

विगतका एल निनो घटनाले कफी, धान र कोकोजस्ता कृषि उत्पादनमा असर पुर्‍याएका छन्। यसले खाद्यान्नको मूल्य बढाउने र विश्व अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याउने गरेको छ। यसै महिनाको सुरुमा संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले एल निनोका कारण जोखिममा रहेका देशका करोडौँ मानिस खाद्य संकटमा पर्न सक्ने चेतावनी दिएको थियो।

सन् २०२७ सबैभन्दा तातो वर्ष बन्ने सम्भावना

मानवीय गतिविधि, विशेषगरी जीवाश्म इन्धन-कोइला, तेल र ग्यास जलाउँदा पृथ्वीको औसत तापक्रम १९औँ शताब्दीको अन्त्यतर्फको तुलनामा करिब १.४ डिग्री सेल्सियस बढिसकेको छ।

एल निनोका बेला समुद्रबाट वायुमण्डलमा ठूलो मात्रामा ताप निस्कने भएकाले विश्व तापक्रम केही समयका लागि थप बढ्छ। बेलायतको मौसम कार्यालयका जलवायु वैज्ञानिक डा. निक डन्करका अनुसार एल निनोको प्रभाव त्यसको चरम अवस्थामा पुगेको हिउँदपछिको अर्को वर्षमा बढी देखिन्छ।

“त्यसैले सन् २०२७ ले सन् २०२४ लाई उछिन्दै अहिलेसम्मकै सबैभन्दा तातो वर्षको कीर्तिमान बनाउने सम्भावना धेरै छ,” उनले भने। 

(बीबीसीमा आधारित, तस्बिर : गेटी इमेजेस)

प्रकाशित: ५ भाद्र २०८३ १८:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App