समाज

८६ वटा एम्बुलेन्स अद्यावधिक

जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका छन् । जनस्वास्थ्य कार्यालय चितवनले गत वैशाख २६ गते सूचना जारी गर्दै सात दिनभित्र अद्यावधिक गर्न निर्देशन दिएको थियो । अद्यावधिक भएकामध्ये दुईवटा शववाहन रहेका छन्।

कार्यालयले सूचना जारी गरेपछि ती एम्बुलेन्स  अध्यावधिक भएको कार्यालयका प्रमुख निर्मल घिमिरेले जानकारी  दिए । जिल्लामा ९३ वटा एम्बुलेन्स दर्ता भएको र सबैको अध्यावधिक गर्न आग्रह गरिएको उनले बताए। जिल्लामा अहिले क वर्गको एम्बुलेन्स नभएको र अध्यावधिक भएका एम्बुलेन्सहरू ख र ग वर्गका रहेको जानकारी दिएका छन्। जसमा ख वर्गका १२ वटा र ग वर्गका ७४ वटा रहेका बताए।

क वर्गका एम्बुलेन्समा भेन्टीलेटरसहित मेडिकल अधिकृत, एचए वा स्टाफनर्स सहितको सुबिधा हुनुपर्ने हुन्छ। ख वर्गका एम्बुलेन्समा एचए वा स्टाफनर्स सहितको सुबिधा हुनुपर्ने र ग वर्गका एम्बुलेन्सले अक्सिजनसहित बिरामी ओसार्ने काम मात्रै गर्छन्।

अध्यावधिक गर्न आएका एम्बुलेन्समध्ये स्वास्थ्य संस्थाका १७ वटा, नेपाल रेडक्रस सोसाईटीका १७ वटा र   प्रतिष्ठान, ट्रष्ट लगायतका ५२ वटा रहेका छन्। घिमिरेका अनुसार अध्यावधिक गर्न आएकामध्ये २९ वटा एम्बुलेन्स  दश वर्ष पूरा गरिसकेका कारण एम्बुलेन्स संञ्चालन निर्देशिका २०८२ बमोजिम नविकरण गर्न नमिल्ने  घिमिरेले बताए।

अद्यावधिक गर्न आएका एम्बुलेन्समध्ये जिपिएस जडान भएर प्रयोग नभएका ४२ वटा छन् भने जडान नभएका ४४ वटा रहेको उनको भनाई छ। समितिले सबै एम्बुलेन्समा जिपिएस जडान गरी सञ्चालन गर्न निर्देशन गरेको छ।

जिल्लाका सात पालिकामामध्ये भरतपुर  महानगरपालिकामा ४३, खैरहनी नगरपालिकामा १६, कालिका नगरपालिकामा १०, राप्ती नगरपालिकामा छवटा, रत्ननगर नगरपालिका र इच्छाकामना  गाउँपालिकामा तीन–तीनवटा एम्बुलेन्स रहेका छन्। यस्तै माडी नगरपालिकमा दुईवटा एम्बुलेन्स रहेका छन् भने अन्य जिल्लामा दर्ता भएर भरतपुर महानगरपालिकामा सञ्चालित तीनवटा एम्बुलेन्स रहेको उनले बताए।

अद्यावधिक नभएका एम्बुलेन्सलाई अद्यावधिक गरेरमात्र सञ्चालन गर्नका लागि स्थानीय प्रशासनलाई आग्रह गरिने र अद्यावधिक नभएकालाई स्थानीय प्रशासनमार्फत कारबाही प्रक्रिया अघि बढाइने भएको छ।  

प्रकाशित: ६ जेष्ठ २०८३ ११:११ बुधबार