सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ स्थित बाँके-संग्रामपुर सडकखण्डअन्तर्गत बाँकेचोक नजिकै ई-रिक्सा दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन्।
बिहीबार दिउँसो करिब १२:३० बजे बाँकेचोकबाट श्रीनगरतर्फ जाँदै गरेको म.प्र.-०३-००१ ह ६३११ नम्बरको ई-रिक्सा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा घाइते हुनेमा ई-रिक्सा चालक सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ श्रीनगरका ४६ वर्षीय प्रमेश्वर महतो कोइरी र सोही स्थानका रामचन्द्र सिंह महतोकी ७० वर्षीया श्रीमती सुगावती देवी महतो छन्। दुवै जनाको अवस्था मध्यम रहेको छ।
त्यसैगरी, महोत्तरीको गौशाला नगरपालिका-१२ पुरानो कान्तिबजारका ७० वर्षीय बलदेव राम र सोही स्थानका मुकेश रामकी ४० वर्षीया श्रीमती सुनिता राम घाइते भएका छन्।
रौतहटको चन्द्रपुर नगरपालिका-८ शान्तपुरका नागेश्वर माझीका ४० वर्षीय छोरा लालबाबु माझी, उनकी ३५ वर्षीया श्रीमती बालकुमारी माझी तथा सर्लाहीको हरिपूर्वा नगरपालिका-९ का राजमिन्द्र चौधरीका १७ वर्षीय छोरा अमलेश कुमार चौधरी पनि दुर्घटनामा घाइते भएका छन्।
घाइतेमध्ये छ जनाको महारानी बजारस्थित महारानी हेल्थ केयरमा र एक जनाको लालबन्दी मोडल अस्पतालमा उपचार भइरहेको छ।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुलजोरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा संलग्न ई-रिक्सालाई नियन्त्रणमा लिई प्रहरी चौकी फुलजोरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: १० मंसिर २०८३ २१:४३ बिहीबार



