लमजुङको मर्स्याङ्दी गाउँपालिकामा सडक फराकिलो बनाउने क्रममा माथिबाट खसेको पहराले च्यापिएर एक्स्काभेटर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा नवलपरासी घर भएका अन्दाजी २० वर्षीय विक्की महतो रहेका छन्।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बुधबार बिहान ९:५० बजेतिर मर्स्याङ्दी गाउँपालिका–२ स्थित भाचे–भदौरे नजिकै उक्त दुर्घटना भएको हो।
खुदीदेखि भुजुङ जाने सडक खण्डमा ढुंगा फुटाएर बाटो फराकिलो बनाउँदै गर्दा एक्कासि माथिबाट खसेको पहराले महतोले चलाइरहेको एक्स्काभेटरलाई पुरेको थियो।
घटनास्थलमा रहेको अर्को सानो मेसिनले च्यापिएको एक्स्काभेटर पन्छाउन नसकेपछि समयमै उद्धार गर्न कठिनाइ भएको थियो। प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार सानो मेसिनले ढुंगा पन्छाउन नसकेपछि तत्काल अर्को ठूलो एक्स्काभेटर मगाएर उद्धारको प्रयास गरिए पनि चालक महतोलाई जीवितै निकाल्न सकिएन।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ११ चैत्र २०८२ १६:२६ बुधबार



