समाज

गरिमा ह*त्या प्रकरण : एक जना २० हजार धरौटी र ९ जना साधारण तारेखमा रिहा

बारा जिल्ला अदालतले बिहीबार सिमराका तीन वर्षीय बालिकाको बलात्कार तथा हत्या गरिएको घटनामा प्रतिवादी बनाइएका मध्ये एक जनालाई २० हजार रुपैयाँ धरौटी र ९ जनालाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश दिएको छ।

प्रमुख जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले जीतपुरसिमरा–१ का २४ वर्षीय प्रोगेश भन्ने पुग्रेश चौधरीलाई २० हजार रुपैयाँ धरौटी छाडन आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार दाहालले बताए।

त्यसैगरी प्रोग्रेशसँगै पक्राउ परेका उनका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममताका साथै सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिनलाई साधारण तारेखमा छाडन आदेश भएको श्रेस्तेदार दाहालले बताए।

घटनामा उनीहरूको संलग्नता पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएकाले तत्कालको लागि धरौटी र साधारण तारिखमा छाड्ने आदेश भएको दाहालले बताए।

यिनीहरुको विरुद्धमा गरिमाको बुबा मनोज चौधरीको किटानी जाहेरी दिएका थिए। जाहिरिको अधारमा प्रहरीले उनीहरू माथि अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतमा पेस गरेको थियो।

अदालतले घटनामा उनीहरूको संलग्नता देखिने ठोस प्रमाण नदेखेपछि तत्कालको लागि यस्तो आदेश दिएको बारा जिल्ला अदालतले जनाएको छ।

यसअघि अदालतले उक्त घटनामा प्रतिवादी बनाइएका दुई नाबालकलाई बाल सुधार गृह पठाउने आदेश गरेको थियो। न्यायाधीश अधिकारीको इजलासले बुधबार दुई नाबालकलाई बाल सुधार गृहमा राखी घटनाको पुर्पक्ष गर्न आदेश दिएको हो। उक्त आदेशसँगै उनीहरूलाई वीरगन्जस्थित बाल सुधार गृह पठाइएको छ।

गत साउन ३१ गते  घरमा खेल्ने क्रममा बेपत्ता भएकी गरिमा भदौ २ गते साँझ भक्तिनगर स्थित एक घरमा मृत अवस्थामा फेला परेकी थिइन्। बालिकाको शव फेला परे लगत्तै स्थानीय र पीडित परिवारले राजमार्ग अवरुद्ध गर्दै देशभर विरोध प्रदर्शन गरेका थिए।

अनुसन्धानका क्रममा अस्पतालमा खिचिएको भिडियो सार्वजनिक भएपछि एक प्रहरी हवलदारलाई थुनामा राखी अनुसन्धान अघि बढाइएको छ भने अन्य कर्मचारीमाथि पनि विभागीय कारबाही प्रक्रिया सुरु गरिएको छ।

गृह मन्त्रालयमा भएको सहमतिपछि भदौ ७ गते पसाहा खोलामा बालिकाको अन्त्येष्टि गरिएको थियो।

प्रकाशित: २६ भाद्र २०८३ १५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App