समाज

देउसीभैलो राति १० बजेसम्ममात्र खेल्न पाइने

जिल्ला प्रशासन कार्यालय कास्कीले तिहारमा खेलिने देउसीभैलोलाई नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण हुनेगरी मर्यादित तथा अनुशासित रूपमा सञ्चालन गर्न सबैमा आग्रह गरेको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीद्वारा आज सार्वजनिक सूचनामा प्रशासनले देउसीभैलोका लागि राति १०ः०० बजेसम्मको समयसीमा तोकेको छ। सडक, चोक, गल्ली, फुटपाथ तथा सार्वजनिक स्थानमा सवारी आवागमन र पैदलयात्रीलाई बाधा नपुग्नेगरी देउसीभैलो खेल्न आग्रह गरिएको छ। 

यस्तै पटका, भुइँचम्पा, रकेट, आतिससबाजी तथा विस्फोटक पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरण र भण्डारणमा रोक लगाइएको प्रशासनले जनाएको छ। देउसीभैलो खेल्दा सर्वसाधारण, व्यवसायी तथा घरधनीसँग जबर्जस्ती रकम माग्ने, दबाब दिने, धम्क्याउने वा अभद्र व्यवहार गर्न नपाइने सूचनामा उल्लेख छ। 

बालबालिकालाई कार्यक्रममा सहभागी गराउँदा अभिभावक वा जिम्मेवार व्यक्तिको निगरानीमा राख्नुपर्ने तथा उनीहरूलाई जोखिमपूर्ण गतिविधिमा संलग्न गराउन नहुने प्रशासनले जनाएको छ। अस्पताल, स्वास्थ्य संस्था, विद्यालय, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन र सर्वसाधारणलाई बाधा नपुग्नेगरी देउसीभैलो सञ्चालन गर्न आग्रह गरिएको छ। 

कुनै घर, निजी आवास, कार्यालय तथा व्यापारिक प्रतिष्ठानमा देउसीभैलो खेल्न जाँदा सम्बन्धित घरधनी वा जिम्मेवार व्यक्तिको पूर्वस्वीकृति लिनुपर्ने सूचनामा उल्लेख छ। जातजाति, धर्म, भाषा, संस्कृति तथा समुदायका आधारमा घृणा, द्वेष र अपमान फैलाउने गीत गाउने, नारा लगाउनेजस्ता गतिविधि नगर्न पनि प्रशासनले सचेत गराएको छ। 

सूचनाविपरीत प्रचलित कानुनको उल्लङ्घन भएमा सार्वजनिक शान्ति सुरक्षा, सामाजिक सद्भाव तथा सार्वजनिक सम्पत्तिमा असर पर्ने गतिविधि गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाइएको छ। 

प्रकाशित: २० कार्तिक २०८३ १७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App