मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक जना वृद्ध कैदीबन्दीको शनिबार राति मृत्यु भएको छ। विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागारमा जबरजस्ती करणी मुद्दामा दोषी ठहर भइ कैद सजाय भुक्तान गरिरहेका रामप्रसाद दाहालको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–६ का ७० वर्षीय रामप्रसाद दाहालको आइतबार राति मृत्यु भएको कारागार प्रशासक राजन घिमिरेले जानकारी दिए। उनका अनुसार शनिबार बिहान साढे ११ बजेतिर अचानक चक्कर लाग्ने र सास फर्ने गाह्रो हुने समस्या देखिएपछि दाहाललाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो।
दाहालको उपचारकै क्रममा शनिबार राति २ बजेतिर मृत्यु भएको घिमिरले बताए। उनी बिरामी परेपछि कारागार प्रशासनले परिवार र आफन्तलाई जानकारी गराएको थियो। परिवारका सदस्य र आफन्तकै उपस्थितिमा उपचार जारी रहेका बेला दाहालको मृत्यु भएको घिमिरेले बताए।
जबरजस्ती करणी मुद्दामा २०७५ पुस ६ गते पुर्पक्षका लागि कारागार चलान गरिएका उनलाई पछि मोरङ जिल्ला अदालतले दोषी ठहर गर्दै १६ वर्ष कैद सजायको फैसला सुनाएको थियो। अदालतको फैसला अनुसार कैद सजाय भुक्तानका लागि दाहालले २०९१ साल पुस ६ गतेसम्म कारागारमा बस्नुपर्ने थियो।
दाहालले हालसम्म करिब साढे ७ वर्ष कैद भुक्तान गरिसकेका थिए। उनको शव हाल अस्पतालमै रहेको र परिवारलाई जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको कारागार प्रशासनले जनाएको छ।
कारागारमा हाल १ हजार २ सय ८ जना कैदीबन्दी रहेका छन्। कारागार प्रशासनका अनुसार आश्रित बालिका १ जना, महिला १ सय १० जना र पुरुष १ हजार ९७ जना रहेका छन्।
प्रकाशित: ७ असार २०८३ १०:३४ आइतबार



