समाज

कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु

जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका–९ घर भई हाल विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गरिरहेका ४१ वर्षीय गोविन्द भण्डारीको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।  

मोरङ कारागारका निमित्त प्रशासक तुलसी पौडेलका अनुसार भण्डारी लागुऔषध मुद्दाका कैदी सजया भुक्तान गरी रहेका थिए। लागुऔषध मुद्दामा अदालतले भण्डारीलाई १० वर्ष कैद सजाय र ७५ हजार रूपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो। अदालतको फैसला अनुसार २०८१ असोज १३ गतेदेखि कैद भुक्तान गरिरहेका उनी २०९१ साउन १५ गतेसम्म कारागारमा बस्नुपर्ने हुन्थ्यो।

भदौ ५ गते छाती दुख्ने समस्या देखिएपछि भण्डारीलाई उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा शुक्रबार चिकित्सकले उनलाई मृत घोषणा गरेको निमित्त प्रशासक पौडेलले बताए। भण्डारीमा फोक्सोसम्बन्धी समस्या रहेको र अन्य स्वास्थ्य समस्या पनि देखिएको पौडेल थियो।

मृतक भण्डारीको शव परिवारलाई जिम्मा लगाइएको कारागार प्रशासनले जनाएको छ।

प्रकाशित: २७ भाद्र २०८३ ११:१९ शनिबार