जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
चन्दननाथ नगरपालिका–१ आचार्यबाडा घर भई हाल लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महताराको करेन्ट लागेर मृत्यु भएको जुम्लाका डीएसपी रबिनबाबु रेग्मीले बताए। उनका अनुसार आइतबार राति करिब साढे १० बजेको समयमा आफ्नै घरमा सीसीटीभी क्यामरा जडान गर्ने क्रममा महतारालाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उनका मित नाता पर्ने गणेश बुढाले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएका थिए। प्रतिष्ठानका चिकित्सकले उपचारको क्रममा महतरालाई मृत घोषणा गरेका हुन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। मृतक महाताराले केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन्।
प्रकाशित: १० कार्तिक २०८२ ०९:१२ सोमबार



