समाज

१६ वर्षपछि दरवाङ–तमानखोला सडक स्तरोन्नति सुरु

म्याग्दीको मालिका गाउँपालिका केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला गाउँपालिका जोड्ने सडकको स्तरोन्नति कार्य सुरु भएको छ। 

गाउँपालिकाले बतासे–फुलबारी खण्डमा स्तरोन्नति आयोजना अघि बढाएको हो। वि सं २०६६ मा मार्ग खुलेको यो सडक हालसम्म सामान्य मर्मतकै भरमा सञ्चालन हुँदै आएको थियो।  प्रदेश समपुरक शीर्षक अन्तर्गत चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। निर्माणका लागि मंगला कन्ट्रक्सन बाबियाचौरले ६५ लाख २३ हजार ४३२ रुपैयाँमा माघ २६ गते ठेक्का सम्झौता गरेको हो।  

ठेक्का असार १५ गतेसम्मका लागि भए पनि लक्ष्यभन्दा अगाडि नै काम सम्पन्न गर्ने योजना अनुसार पहिलो चरणमा डोजर प्रयोग गरेर सडक फराकिलो बनाउने काम तीव्र बनाइएको निर्माण कम्पनीका प्रतिनिधि चक्रलाल पाण्डेले बताए।

 हाल ३ दशमलव ५ देखि ४ मिटर चौडाइ रहेको सडकलाई कम्तीमा ६ मिटर बनाउने लक्ष्यसहित भित्ता काट्ने काम भइरहेको छ। सडक फराकिलो भएपछि करिब ५०० मिटर क्षेत्रमा नाली, ग्रेड मिलाउने, घुम्ती सुधार, ग्यावियन तथा पलम पर्खाल निर्माण र ढलान गरिनेछ। 

प्राविधिक शाखाका अनुसार आयोजनाअन्तर्गत ११ हजार घनमिटर भित्ता काट्ने, ४४५ घनमिटर ग्यावियन पर्खाल, २५४ घनमिटर नाली, २५० घनमिटर ढलान र २७ घनमिटर पलम पर्खाल निर्माण हुनेछ। यसअघि थापाचौरदेखि देविस्थान जाने घुम्ती खण्डमा स्तरोन्नति भइसकेको थियो।

उक्त सडक मालिका गाउँपालिकाका वडा ४, २ र ३ का साथै तमानखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मुख्य मार्ग हो। यो आयोजना मालिका गाउँपालिकाको चालु आर्थिक वर्षको प्राथमिकताप्राप्त योजनामध्ये एक रहेको  छ। -रासस 

प्रकाशित: १२ चैत्र २०८२ १२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App