भक्तपुरमा दैनिक आर्थिक अपराध हुने गरेको देखिएको छ । असोज एक महिनामा मात्रै जिल्लामा आर्थिक अपराधका ७५ वटा घटना दर्ता भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । त्यस अन्तर्गत पनि बैंकिङ कसुरका बढी देखिएको छ । आर्थिक अपराधका कुल ७५ वटा मुद्दा दर्ता भएकोमा बैंकिङ कसुरका मात्रै ६५ वटा रहेका छन् । बाँकी १० वटा भने ठगीका रहेका छन् ।
परिसरका सूचना अधिकारी दीपककुमार कार्कीका अनुसार जिल्लामा एक महिनामा दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । घटनामा परी १९ जना घाइते भएका छन् ।
ती दुर्घटनामा ४५ वटा सवारीसाधन संलग्न थिए । दुर्घटनाका प्रमुख कारणमध्ये तीव्र गति आठ, मादक पदार्थ सेवन पाँच, सडकमा चालकको ध्यान नपुग्नु पाँच र लापरबाहीपूर्वक सवारी चलाउनु पाँच घटना रहेको तथ्यांक छ । सवारी चेकिङका क्रममा २ हजार १६२ वटा कारबाही गरी ११ लाख ९१ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ ।
प्रहरीले असोज महिनामा हराएका २१ जनामध्ये १९ जनालाई फेला पारेको जनाएको छ । हराएकामध्ये तीन पुरुषमध्ये दुई जना फेला परेका छन् भने पाँच बालिकामध्ये चार जना फेला परेका छन् । दुई जना अझै फेला पर्न बाँकी छन् ।
घरेलु हिंसासम्बन्धी पाँच वटा उजुरी परेकोमा सबै उजुरीमा मिलापत्र गराइएको परिसरले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी उजुरीका २३ वटा घटना मिलापत्र गरिएको प्रहरीले जनाएको छ । यसैगरी प्रहरीले असोज महिनामा विभिन्न प्रकृतिका १७७ वटा ठाडो उजुरीमध्ये १७२ वटा फछ्र्योट गरेको छ । जिल्ला प्रशासन कार्यालयमार्फत आएका ७६ उजुरीमध्ये ७४ वटा फछ्र्योट भएका छन् ।
प्रहरीले असोज महिनामा १ हजार ६७४ पटक मोबाइल गस्ती, ८६८ पटक पैदल गस्ती र १ हजार २४२ पटक मोटरसाइकल गस्ती गरेको जनाएको छ । विभिन्न प्रकारका नियमित प्रहरी परिचालनका क्रममा कुल ३० हजार ८९३ पटक प्रहरी परिचालन गरिएको विवरणमा उल्लेख छ ।
प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित १५८ वटा कार्यक्रम सञ्चालन गरी ४ हजार ८३५ जनाको सहभागिता गराएको छ । विद्यालयमा सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रममा ५३० विद्यार्थी सहभागी भएका थिए । त्यस्तै तीन स्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरी २०५ जनासँग छलफल गरिएको थियो । सार्वजनिक सुनुवाइका क्रममा सडक सुरक्षा, सडकबत्तीको व्यवस्था, लागूऔषध नियन्त्रण तथा चोरी र लुटपाट नियन्त्रणका लागि प्रहरी गस्ती र चेकिङ बढाउनुपर्ने विषय उठेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसरले सार्वजनिक गरेको विवरणमा असोज महिनामा आगलागीका चार, बाढी तथा वर्षाका आठ र पहिरोका १३ घटना अभिलेख गरिएको उल्लेख छ । यी विपद्का घटनाबाट कुल अनुमानित एक करोड ३० लाख ७६ हजार २५० रुपैयाँ बराबरको क्षति भएको विवरणमा जनाइएको छ ।
विभिन्न प्रकृतिका १४३ वटा मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार भदौ महिनामा १७९ मुद्दा दर्ता भएकामा असोजमा मुद्दाको संख्या घटेको हो । प्रहरीका अनुसार असोज महिनामा दर्ता भएका मुद्दामध्ये ५० वटा फछ्र्योट भएका छन् । त्यस्तै लागूऔषधसम्बन्धी आठ, जबर्जस्ती करणीका चार र ज्यान मार्ने उद्योगको एउटा मुद्दा दर्ता भएको छ ।
प्रकाशित: ९ कार्तिक २०८३ १७:४६ सोमबार
-600x400.jpg)

-600x400.jpg)
