अर्नब चक्रवातको कारणले कात्तिक १२ गतेदेखि सुरु भएको वर्षाले बारा र पर्साका किसानले लगाएको आलु, काउली, धान, मुसुरो र तोरी बालीमा व्यापक क्षति गरेको छ।
वर्षाको पानी खेतमा जम्मा भएपछि रोपिएको आलु, मुसुरो र तोरीको बीउ उम्रन नसकिने भएकाले किसानलाई व्यापक क्षति पुगेको हो। खेतमा पानी जमेको कारणले काउलीको बोट सुक्ने, वर्षाको पानीले धानको बालाको फूल झार्ने गरेको कारण खेतीमा ठुलो क्षति पुगेको किसानले गुनासो गरेका छन्।
वर्षाले खेतमा पानी जम्मा भएपछि रोपिएको आलु माटोमुनि नै कुहिने अवस्थामा पुगेको बारा बेल्हियाका किसान दर्शनी साहले बताए। ७ कट्ठा क्षेत्रफलमा लगाइएको आलु बालीमा बीउ, रासायनिक मल र जोताइ भाडा गरेर ३५ हजार जति खर्च गरिएको उनले सुनाए। कात्तिक ६ गतेदेखि ८ गतेसम्म रोपाइँ गरिएको आलुको बीउ वर्षाको पानीले कुहिने अवस्थामा पुगेको उनको भनाइ छ।
लगातारको वर्षाले रोपिएको आलु बालीमा क्षति गरेपछि पुनः आलु खेती गर्न नसकिने उनले बताए। पुनः आलु रोप्नका लागि आलुको बीउ महँगो हुने र रासायनिक मल डीएपी र पोटासको बजारमा अभाव रहेको कारणले आलु खेती गर्न नसकिने उनको दुखेसो छ।
बन्जरियाका किसान हृदे साहले ५ कट्ठा क्षेत्रफलमा लगाएको काउली र ४ कट्ठा क्षेत्रफलमा लगाएको मुला खेतीमा वर्षाको पानी जमेको कारणले नष्ट हुने सम्भावना बढाएको बताएका छन्। बजारमा बिक्री गर्नका लागि तयार भएको मुलामा लगातारको वर्षाले पानी जमेपछि खेतमै कुहिन सुरु हुने उनले बताए।
आठ हजार खर्च गरेर तयारी गरिएको मुला बिक्री गर्ने समयमै वर्षाको पानीले खेतमै कुहिने भएपछि पूरै लगानी नै डुब्ने उनले बताए। उनका अनुसार वर्षा नभएको अवस्थामा खेतमा तयारी गरिएको मुला बेच्दा त्यसबाट ५० हजार जति आम्दानी हुने अनुमान थियो। त्यसैगरी खेतमा लगाइएको काउलीमा पानी जमेको कारणले काउलीको बोट बचाउन नसकिने उनले बताए।
कात्तिकमा आएको वर्षाको कारणले किसानले खेतमा लगाइसकेको मुसुरो र तोरीको बीउ माटोमुनि कुहिने, काउलीको बोट सुक्ने, धानको बालाको फूल पानीले झर्ने गरेको कारण किसानलाई चिन्तित बनाएको छ।
किसानलाई वर्षाबाट भएको क्षतिको स्थलगत निरीक्षण गरी वास्तविक विवरण संकलन गर्न सम्बन्धित निकायसँग किसानले माग गरेका छन्। साथै क्षति पुगेका किसानलाई आवश्यक प्राविधिक तथा राहत सहयोग उपलब्ध गराउन पनि उनीहरूले आग्रह गरेका छन्।
आलु, तरकारी, मुसुरो र तोरी खेतीमा किसानले बीउ, मल, मजदुर, सिँचाइ तथा आधुनिक प्रविधिमा ठुलो लगानी गर्ने गरेका छन्। यस्तो अवस्थामा प्राकृतिक विपद्का कारण बालीमा क्षति पुगेपछि किसानको लगानी जोखिममा परेको छ।
मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कअनुसार बाराका किसानले ७४ सय ५० हेक्टर क्षेत्रफलमा आलु बाली लगाउने गरेका छन् र त्यसबाट एक लाख २१ हजार मेट्रिक टनसम्म आलु उत्पादन गर्दै आएका छन्। त्यसैगरी बाराका किसानले ३६ सय हेक्टर क्षेत्रफलमा तोरी खेती गर्दै आएका छन् र त्यसबाट करिब ३७ सय मेट्रिक टन तोरी उत्पादन गर्ने गरेका थिए।
पर्सा जिल्लामा करिब ३४ सय हेक्टर क्षेत्रफलमा किसानले आलु बाली लगाउने गरेका छन् र लगाएको आलु बालीबाट ६० हजार मेट्रिक टनसम्म आलु उत्पादन गर्दै आएका छन्। त्यसैगरी पर्सामा करिब ७१ सय हेक्टर क्षेत्रफलमा किसानले तोरी खेती गर्ने गरेका छन् र त्यसबाट ८८ सय मेट्रिक टन तोरी उत्पादन गरेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। त्यसैगरी मुसुरो, काउली र अगहनी धान खेती गरेका किसानलाई वर्षाले धेरै क्षति पुर्याएको बताइएको छ।
प्रकाशित: १३ कार्तिक २०८३ २०:३४ शुक्रबार



