समाज

५० हजार घुस लिने कलंकी नापीका अधिकृत र सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जग्गा हालसाविक गरी प्लट मिलान गरिदिने बहानामा सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नापी कार्यालय कलंकीका तत्कालीन दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पाँधे र तत्कालीन सर्वेक्षक अमित कुमार श्रेष्ठविरुद्ध बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरेको हो।

उनीहरूले चन्द्रागिरि नगरपालिका वडा नं-९ (साविक मच्छेगाउँ वडा नं. ९ ग) मा रहेको जग्गा हालसाविक गरी प्लट मिलानको सहजीकरणका लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेर बार्गेनिङ गरेको अख्तियारको अनुसन्धानमा पुष्टि भएको छ।

अनुसन्धानका क्रममा ती कर्मचारीहरूले कानुनी कारबाहीबाट उन्मुक्ति पाउने बदनियत राखेर अनौठो जुक्ति लगाएका थिए। नियमपूर्वक गरिदिनुपर्ने काम नगरी सेवाग्राहीलाई दुःख हैरानी दिँदै ५० हजार घुस मागेका उनीहरूले रकम भने आफू स्वयंले नबुझी कार्यालय सहयोगीमार्फत लिन लगाएको अख्तियारले जनाएको छ।

घुस लिने गलत उद्देश्य र बदनियत राखी रकम लिन मञ्जुर गरेको पुष्टि भएपछि दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुरदार ठहर गरिएको छ।

आयोगले दुवै प्रतिवादीविरुद्ध ५० हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजाय मागदाबी गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

प्रकाशित: २२ भाद्र २०८३ १५:४१ सोमबार