ग्यास विक्रेता महासंघ नेपालले देशभर देखिएको खाना पकाउने एलपी ग्यास अभावको वास्तविक कारण पहिचान गरी तत्काल समाधान गर्न सरकारसँग माग गरेको छ।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल देखिएको ग्यास अभावबारे विभिन्न भ्रम फैलिएकोमा सरकार समस्या समाधानभन्दा प्रचारबाजीमा बढी ध्यान दिएको आरोप लगाएको छ।
यस्तै, महासंघले नेपाल आयल निगम, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत सम्बन्धित निकायले ग्यास अभावको वास्तविक कारण सार्वजनिक गर्न नसकेको आरोप लगाएको छ।
‘नेपाल आयल निगम लि, वाणिज्य मन्त्रालय र सरकारका विभिन्न निकायहरू समस्याको समाधानभन्दा अनावश्यक प्रचारबाजीमा लागेको कुरा विगत केही दिनयताको गतिविधिबाट पुष्टि हुन्छ’, महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले जारी गरेका विज्ञप्तिमा भनिएको छ।
महासंघले विगत ६ महिनामा करिब ६० हजार मेट्रिक टन एलपी ग्यास कम आयात भएकाले बजारमा आपूर्ति प्रभावित भएको दाबी गरेको छ।
साथै, प्रभावकारी वितरण प्रणाली कमजोर बन्दै जाँदा र आवश्यकताभन्दा बढी सिलिन्डर बजारमा छरिएकाले अभाव थप जटिल बनेको ठहर गरेको छ।
महासंघले उद्योग तथा विभिन्न बिक्री केन्द्रबाट प्रत्यक्ष ग्यास बिक्री गर्ने कार्यले आधिकारिक विक्रेतालाई असर परेको भन्दै यस्तो अभ्यास तत्काल रोक्न माग गरेको छ।
‘सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफैं ग्यास बिक्री गर्ने, नीति अनुरूपका नाममा आम विक्रेतालाई अनावश्यक दुःख दिने सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति प्रकट गर्दछ’,विज्ञप्तिमा भनिएको छ।
थप भनिएको छ,‘तत्काल ग्यास उद्योग र विभिन्न नामका बिक्री केन्द्र बन्द गरी विक्रेतामार्फत बिक्री वितरण सहज गरी उपभोक्तालाई अनावश्यक सास्ती नदिई वास्तविक समस्या समाधानमा केन्द्रित हुन यसै विज्ञप्तिमार्फत सरकारसँग जोडदार माग गर्दछौं।
प्रकाशित: ३१ श्रावण २०८३ १५:१४ आइतबार



