समाज

फुर्के खोला पुल बनाउन ‘कनेक्ट धादिङ’ अभियान

गत भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि क्षतिग्रस्त फुर्के खोला पुल पुनर्निर्माण गर्न स्थानीयले सरकारलाई दबाब दिन थालेका छन्।

सामाजिक सञ्जालमा #कनेक्टधादिङ अभियान चलाउँदै उनीहरूले पुलको पुनर्निर्माण तत्काल अघि बढाउन सरकारसँग माग गरिरहेका हुन्। उनीहरूले सम्बन्धित निकायलाई फुर्के खोला पुलको तत्काल अस्थायी र दीर्घकालीन पुनर्निर्माणको काम अघि बढाउन माग गरेका छन्।

बाढीले पृथ्वी राजमार्गबाट धादिङबेँसी सदरमुकाम जोड्ने फुर्के खोला पुल बगाएपछि हजारौं नागरिकको दैनिक आवागमन प्रभावित भएको छ। पुल सञ्चालनमा हुँदा दैनिक करिब २०० यात्रुबाहक, १५० मालवाहक तथा २५० देखि ३०० दुईपाङ्ग्रे र साना सवारीसाधन आवतजावत गर्ने गरेका थिए।

यो पुल धादिङका ८ वटा स्थानीय तह, गोरखाका २ वटा स्थानीय तह र मनास्लु पर्यटन पदमार्गमा आवतजावत गर्ने नागरिक तथा पर्यटकलाई जोड्ने महत्वपूर्ण माध्यम हो। यस क्षेत्रसँग प्रत्यक्ष रूपमा दुई लाखभन्दा बढी जनसंख्या जोडिएको छ।

हाल वैकल्पिक रूपमा प्रयोग भइरहेका कच्ची सडकले नागरिकको आवश्यकता धान्न नसकेको उनीहरूको गुनासो छ। चाडपर्व नजिकिँदै गर्दा आवागमन, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति र आपतकालीन सेवाका लागि पुलको आवश्यकता झनै बढेको स्थानीय बताउँछन्।

स्थानीयले यो विषय कुनै राजनीतिक दल, व्यक्ति वा राजनीतिक स्वार्थसँग जोडिएको नभई नागरिकको सहज आवागमन, अर्थतन्त्र र जीवनसँग जोडिएको साझा सवाल भएको बताएका छन्।

प्रकाशित: २२ भाद्र २०८३ १२:४८ सोमबार