मानपुर बैरेजनजिक एक युवकलाई चक्कु प्रहार भएको घटनामा तत्कालीन नेका सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहसहित १० जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएर पनि प्रहरीले उनीहरुलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको छैन।
२०८१ चैत १ गते साँझ करिब ८ बजेको समयमा सर्लाहीको बरबरिया गाउँपालिका १ मानपुर बैरेजनजिक सडकमा मुकेशकुमार शर्मामाथि चक्कु प्रहार भएको थियो।
गम्भीर अवस्थामा घाइते शर्मालाई उपचारका लागि नारायणी अस्पताल वीरगंज लगिएकोमा त्यहाँ उपचार नभएपछि नेशनल मेडिकल कलेजमा रिफर गरिएको थियो। शर्माको पेटको अपरेशन नेशनल मेडिकल कलेजमा चैत २ गते गरिएको थियो।
घटना लगत्तै पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा जाहेरी दिँदा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो। इप्रका बरहथवाका तत्कालीन प्रमुख डिएसपि गौतम थापाले घटनालाई ढाकछोप गर्ने प्रयास गरेपछि पीडित पक्षले हुलाकमार्फत मुद्दा दर्ता गराउन खोज्दा सर्लाही प्रहरीले पनि हुलाकको रजिस्ट्री पत्रलाई पनि अस्वीकार गरेको थियो।
त्यसपछि पीडितका भाइ मुनेक ठाकुर २०८२ बैसाख ७ मा उच्च अदालत पुगेका थिए। उच्च अदालतले धनकौल गाउँपालिका ३ का सुरेन्द्रप्रसाद सिंह, गजेन्द्र साह, निकेश त्रिपाठी, सुधीर सहनी, हरिन्द्र महतो, अमित सहनी, होरिल सहनी, रामनारायण सही, चुनचुन सहनी र सोनुकुमार सहनीलाई प्रतिवादी बनाई निजहरुलाई पक्राउ गरी घटनाको अनुसन्धान अगाडि बढाउन आदेश गरेको थियो।
उच्च अदालतको आदेशपछि इप्रका बरहथवाले गत असोज १४ गते जाहेरी मुद्दा दर्ता गरेको थियो तर उनीहरूलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन। मुद्दा दर्ता गरेर पक्राउ पुर्जी जारी भइसक्दा पनि शक्ति र पहुँचवालाको नाममा आरोपीहरुलाई पक्राउ नगरिएको पीडितको भनाइ छ।
यसैबिच नेपाली कांग्रेस सर्लाहीले आफ्ना नेता, कार्यकर्तामाथि सुनियोजित किसिमले मुद्दा चलाएको आरोप लगाएका छन्।
कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीले सदरमुकाम मलंगवामा बिहिवार पत्रकार सम्मेलन गर्दै एउटा सामान्य विवादको घटनालाई लिएर निवर्तमान जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, नेता गजेन्द्र साहलगायतका नेता कार्यकर्ता माथि मुद्दा लगाइएको भन्दै आपत्ति जनाएका थिए।
कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहले आफ्ना दाजु सुरेन्द्र सिह लगायतका कांग्रेस नेतामाथी लगाइएको झुठा मुद्दा फिर्ता नलिए कडा प्रतिवाद गर्ने बताएका छन्।
प्रकाशित: १४ चैत्र २०८२ ११:५५ शनिबार