समाज

चिसो बढ्यो: पश्चिम तराईमा बाक्लो हुस्सु र शीतलहर

बाक्लो हुस्सु र चिसो हवाको कारण पश्चिम तराई क्षेत्रमा चिसोको प्रभाव तीव्र बनेपछि जनजीवन प्रभावित भएको छ । बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा विगत केही दिनयता लगातार बढिरहेको शीतलहरका कारण दैनिकी नै कष्टकर बनेको छ ।

शुक्रबार नेपालगन्ज र आसपासका क्षेत्रमा यस वर्षकै अत्यधिक चिसो महसुस गरिएको छ । बिहान मापन गरिएको न्यूनतम तापक्रम १० डिग्री र अधिकतम १३ डिग्री सेल्सियस मात्र रहेपछि चिसो झनै तीव्र बनेको हो । दिनभरि घाम नदेखिँदा र बाक्लो हुस्सु छाइरहँदा सामान्य जीवन प्रभावित हुँदै गएको स्थानीयवासीको भनाइ छ ।

चिसोका कारण बालबालिका, विद्यार्थी, वृद्धवृद्धा तथा दैनिक ज्यालादारीमा भर पर्ने वर्ग बढी प्रभावित भएका छन् । विद्यालय जाने विद्यार्थीलाई बाक्लो लुगा, टोपी र मफलरमा ढाकेर पठाइरइरहेका अभिभावकहरू चिसोका कारण स्वास्थ्य जोखिम बढेको बताउँछन् । ‘बिहान–बेलुका अत्यधिक चिसो भएको छ, बच्चाहरूलाई विद्यालय पठाउँदा नै डर लागिरहेको छ,’ नेपालगन्ज उपमहानगरपालिका–५ का अभिभावक रमेश चौधरीले भने । केही स्थानमा अभिभावकहरूले चिसो बढेका कारण विद्यालय बिदा दिनुपर्ने मागसमेत अघि सारेका छन् ।

खुलेआम मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्गको अवस्था झनै कठिन भएको स्थानीय मजदुरहरू बताउँछन् । ‘यसरी चिसो हुँदा बिहान काममा निस्कनै गाह्रो पर्छ, काम नहुँदा घर चलाउन समस्या भएको छ,’ दैनिक मजदुरी गर्ने मोहम्मद आलमले बताए । चिसो बढेपछि वृद्धवृद्धाको स्वास्थ्यमा पनि जोखिम बढेको चिकित्सकहरूको भनाइ छ ।

नेपालगन्जसँगै कोहलपुर, खजुरा, नरैनापुर, बैजनाथ, राप्तीसोनारी, डुडुवा र जानकी क्षेत्रसम्म नै शीतलहरको प्रभाव फैलिएको छ । टोल–टोलमा आगो ताप्नेको भीड देखिन थालेको छ भने बजार, चोक र सार्वजनिक स्थलहरू सुनसानजस्तै भएका छन् । चिसोका कारण सार्वजनिक तथा व्यवसायिक सेवा प्रवाहमा समेत असर परेको स्थानीय व्यापारीहरूको गुनासो छ । ‘ग्राहक कमै आउन थालेका छन्, चिसोले व्यापार नै सुस्त भएको छ,’ नेपालगन्ज–१२ का व्यापारी दिलबहादुर थापाले भने ।

यता, बाक्लो कुहिरो र न्यून दृश्यताका कारण नेपालगन्ज विमानस्थलबाट हुने हवाई उडानहरू पनि प्रभावित भएका छन् । मौसम अनुकूल नभएकाले उडान ढिलो हुनुका साथै कतिपय उडान स्थगितसमेत गर्नुपरेको विमानस्थल स्रोतले जनाएको छ । यसले लामो दूरीका यात्रुहरू मारमा परेको बताएका छन् ।

मौसमविद्हरूले केही दिन यस्तै अवस्था रहने पूर्वानुमान गर्दै सावधानी अपनाउन आग्रह गरेका छन् । अत्यधिक चिसोबाट जोगिन न्यानो लुगा प्रयोग गर्न, बिहानबेला अनावश्यक बाहिर ननिस्कन तथा स्वास्थ्यमा समस्या देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । लगातार बढिरहेको चिसोका कारण जनस्वास्थ्यमा जोखिम नबढोस् भन्दै स्थानीय तहहरूले पनि आवश्यक तयारी बढाउनुपर्ने जनस्तरबाट माग उठ्न थालेको छ ।

 

प्रकाशित: ४ पुस २०८२ १४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App