समाज

लौकहीमा सशस्त्रको गोली प्रहारबाट सिटी सफारी चालकको मृत्यु, स्थिति तनावग्रस्त

सडकमै शव राखेर प्रदर्शन

सशस्त्र प्रहरीको गोली प्रहारबाट आज बिहान १ बजे राति सुनसरी कोशी गाउँपालिका वडा नं. १, लौकहीमा सिटी सफारी चालकको हत्या भएपछि विहानैदेखि स्थिति तनावग्रस्त बनेको छ। सशस्त्र प्रहरीको गोली प्रहारबाट सिटी सफारी स्थानीय चालक करिब ४४ वर्षीय विजय शाहको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो।

स्थानीयले लौकही बजारको सशस्त्र प्रहरीको डियूटी गर्ने एउटा विटमा आगजनी गरेका छन्। स्थानीयले बिहानैदेखि लौकही बजारमा मृतक शाहको शव सडकमै राखेर प्रदर्शन गरेका छन्। जसका कारण पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधन ठप्प  छन्।

आन्दोलन नेतृत्वविहीन भएकाले प्रहरी प्रशासनले उच्च सर्तकता अपनाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले बताए।

उनका अनुसार पीडितका तर्फबाट वार्तामा बस्नेको समेत आन्दोलनमा सहभागीले कुरा नसुन्दा स्थिति साम्य पार्न गाह्रो भएको छ।

स्थानीय गाउँलेसमक्ष स्थिति सामान्य बनाउन लौकहीमा वार्ता भए पनि कुनै निष्कर्ष निस्कन सकेन। जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष र प्रशासनकाे वार्ताको तयारी भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए।

भारतीय सीमाबाट करिब ५०० मिटर उत्तरतर्फ पर्ने क्षेत्रमा शाहमाथि सशस्त्र प्रहरीले गोली प्रहार भएको हो। सिटी सफारीमा चिनी, सरफ र सुर्तीजन्य पदार्थ ल्याउँदै गर्दा उनलाई गोली लागेको हो।

सशस्त्र प्रहरीको कोशी प्रदेशस्तरीय मुख्यालय पकली सुनसरीका डिआइजी कुमार न्यौपानेले मृतकसँगै तीन सफारीमा सामान भारतबाट ल्याएको र त्यस क्रममा प्रहरीलाई निसाना बनाएर गोली प्रहार भएकाले जवाफी फायर गरेको जिकिर गरे।

उनका अनुसार तीन सफारीमध्ये दुई सफारी चालकले सामान कटाए। ‘तीन सफारी चालकमध्येबाटै सशस्त्र प्रहरीलाई गोली प्रहार गरेपछि जवाफी फायर गर्दा एकजनाको मृत्यु हुन पुग्यो,’ डिआइजी न्यौपानेले भने।

घटनापछि प्रहरी टोलीले घटनास्थलबाट ठूला हतियारका दुई खोका बरामद गरेको छ।  

प्रकाशित: १७ पुस २०८२ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App