समाज

चितवन–काठमाडौं यात्रुको बेहाल: गाडी अभाव, भाडा १२ सयसम्म

एक समय नारायणगढको पुलचोक, पोखरा बसपार्कलगायत क्षेत्रमा यात्रु देख्नेबित्तिकै सवारी चालक र सहचालकले बोलाएर गाडीमा चढाउँथे। तर आइतबार दिउँसो दृश्य उल्टो देखियो। चितवनबाट काठमाडौं जाने गाडी नपाएर यात्रुहरू नै सवारी खोज्दै भौतारिएका थिए।

देवघाटका गणेश थापा बिहान ९ बजे नै भाञ्जीको विवाहमा सहभागी हुन काठमाडौं जान घरबाट निस्किएका थिए। साढे ९ बजे नारायणगढको पोखरा बसपार्क पुगेका उनी दिउँसो ३ बज्दासम्म पनि टिकट नपाएर बसपार्कमै अलपत्र परे।

‘कहिले पुलचोक पुग्छु, कहिले आँपटारी पुग्छु, गाडी कतै पाइँदैन,’ उनले भने, ‘अटो चढ्दा चढ्दै काठमाडौं जाने भाडा जति खर्च भइसक्यो।’

थापाजस्तै गैँडाकोट नगरपालिका–१ का देवराज पौडेल पनि चार घण्टादेखि बस खोजिरहेका थिए। नियमित उपचारका लागि काठमाडौं जानुपर्ने उनले यस्तो समस्या पहिलो पटक भोगेको बताए।

‘हरेक महिना उपचारका लागि काठमाडौं जानुपर्छ,’ उनले भने, ‘जीवनमा पहिलो पटक गाडी नपाएर यसरी अलपत्र परें।’

चितवन देशको भौगोलिक केन्द्र भएकाले पूर्व–पश्चिमबाट आउने अधिकांश सवारी यही मार्ग हुँदै राजधानी प्रवेश गर्छन्। तर अहिले ती सवारीहरू भरिएर आउने भएकाले चितवनबाट चढ्ने यात्रुहरू थप समस्यामा परेका छन्।

काठमाडौंबाट आमालाई भेट्न चितवन आएकी सीता भण्डारी फर्किन नसक्दा निराश देखिइन्।

‘यातायात व्यवसायीले व्यवस्था गर्ने हो कि सरकारले?’ उनले प्रश्न गरिन्, ‘यत्रो भीड अलपत्र छ, कसैले सुन्ने कोही छैन।’

सवारी अभावसँगै यात्रुहरू महँगो भाडाको मारमा पनि परेका छन्। फाट्टफुट्ट चलिरहेका गाडीहरूले मनपरी भाडा असुलिरहेको गुनासो छ।

भरतपुरका पवन पण्डितले आफ्नी दिदीलाई काठमाडौं पठाउन एक हजार दुई सय रुपैयाँ तिर्नुपरेको बताए।

‘तीन घण्टा कुर्दा पनि गाडी पाइएन, अन्ततः महँगो भाडा तिरेर पठाएँ,’ उनले भने।

सामान्य अवस्थामा चितवन–काठमाडौं भाडा ५५० देखि ६४० रुपैयाँसम्म पर्ने भए पनि अहिले दोब्बरजस्तै तिर्नुपर्ने अवस्था आएको छ।

स्थानीय प्रशासनले पुलचोक, आँपटारीलगायत स्थानबाट यात्रु चढाउन रोक लगाएको छ। यात्रुहरूलाई केन्द्रीय बसपार्क वा पोखरा बसपार्कबाट टिकट लिन भनिए पनि त्यहाँ टिकट काउन्टर सुनसान छन्। न टिकट छ, न गाडी।

यातायात व्यवसायीहरू भने पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सवारी सञ्चालन कठिन भएको बताउँछन्।

व्यवसायी महासंघका उपाध्यक्ष भुवन बरालका अनुसार, सामान्य अवस्थामा चितवनबाट दैनिक करिब १०० बस काठमाडौं जाने गर्थे। अहिले त्यो संख्या घटेर करिब ३० मा सीमित भएको छ।

‘सरकारले भाडा समायोजन ढिलो गर्छ, तर इन्धनको मूल्य हप्तैपिच्छे बढ्छ,’ उनले भने, ‘घाटा खाएर गाडी चलाउन सकिँदैन।’

उनका अनुसार, हालको भाडा समायोजन प्रणाली वैज्ञानिक छैन। ‘प्लेनको भाडाजस्तै तत्काल समायोजन हुनुपर्छ, नत्र बीचको घाटा कसले बेहोर्ने?’ उनले प्रश्न गरे।

सरकारले गत चैत २५ गते सार्वजनिक यातायातको भाडा १६ प्रतिशतले बढाएको थियो। तर व्यवसायीहरूका अनुसार डिजेलको मूल्य १८० रुपैयाँबाट बढेर २३७ रुपैयाँ पुगिसकेको अवस्थामा त्यो वृद्धि पर्याप्त छैन।

यता प्रशासन भने यात्रुवाहक सवारी सामान्य अवस्थामै चलेको दाबी गर्छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, ‘आधिकारिक रूपमा यात्रुवाहक बस कम चलेको भन्ने गुनासो आएको छैन। ट्राफिकको रिपोर्ट अनुसार मालबाहक सवारी कम भएका छन्, यात्रुवाहक भने सामान्य छन्।’

उनले निगरानी बढाउने आश्वासन दिएका छन्।

प्रकाशित: ६ वैशाख २०८३ १९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App