समाज

फास्ट ट्र्याक निर्माणस्थलमा लोडरले किचेर चिनियाँ सुपरभाइजरको मृत्यु

मकवानपुरको भीमफेदीस्थित निर्माणाधीन तराई-मधेश फास्ट ट्र्याकमा लोडर गाडीले किचेर एक चिनियाँ नागरिकको घटनास्थलमै मृत्यु भएको छ।

भीमफेदी गाउँपालिका-८ महादेवटारस्थित फास्ट ट्र्याक निर्माणस्थलमा शनिबार दिउँसो करिब २ बजे काम गर्ने क्रममा लोडरको पछाडिको चक्काले किच्दा ५१ वर्षीय चिनियाँ नागरिक गुओ फाङ्सुनको ज्यान गएको हो।

मृतक फाङ्सुन फास्ट ट्र्याक निर्माणको जिम्मा पाएको चाइना रेलवे नम्बर-२ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडमा २०८२ फागुन ३ देखि सुपरभाइजरका रूपमा कार्यरत थिए। चीनको सिचुआन प्रान्त घर भएका उनी कार्यक्षेत्रमै खटिएका बेला दुर्घटनामा परेका हुन्।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१ घर भएका ४८ वर्षीय गौरसिंह साउदले चलाएको लोडरको पछाडिको चक्काले किच्दा गम्भीर घाइते भएका फाङ्सुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थल जाँच मुचुल्का सम्पन्न गरी शव पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमहाराजगन्जको शवगृहमा राखिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: ७ भाद्र २०८३ १८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App