सुरक्षा संगठनको आधारस्तम्भ मानिने ‘चेन अफ कमाण्ड’ अर्थात् आदेशको श्रृंखला नै कमजोर बन्दै जाँदा मधेश प्रदेश प्रहरी पछिल्लो समय निरन्तर विवादको केन्द्रमा पर्दै आएको छ।
सीमावर्ती क्षेत्रमा मौलाएको तस्करी, सादा पोशाकमा खटिने घुमुवा प्रहरीको भूमिका, आर्थिक लेनदेनका आरोप तथा नेतृत्व तहबीचको समन्वय अभावका घटनाले मधेश प्रदेश प्रहरीको संगठनात्मक अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।
केही समयअघि मधेश प्रदेशका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलिया र उनका निकट मानिएका वरिष्ठ सई गोपाल थापा मगर र सई जयलाल यादवको नाम जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा विभिन्न आरोप सार्वजनिक भएका थिए। मधेस प्रदेशमा ‘सेटिङ’ मै तस्करी हुने गरेको विषय जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन वरिष्ठ सई सागर राणा र धनुषा जिल्लाका व्यापारी राजिव महासेठबीच भएको अडियो संवाद बाहिरिएपछि छताछुल्ल भएको थियो।
अडियोमा घुमुवा प्रहरी तथा उच्च प्रहरी अधिकारीको साठगाँठमा तस्करी हुने गरेको र माथिल्लो तहसम्म मासिक ठूलो रकम पुग्ने गरेको दाबी गरिएको थियो। प्रहरीका जिम्मेवार कर्मचारी र व्यापारीबीचको अडियोले प्रहरी संगठनभित्रको अनुशासन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।
मधेस प्रदेश प्रहरी मुख्यालय जनकपुरले उक्त अडियोसम्बन्धी छानबिन समिति गठन गर्नुको साटो उल्टै वरिष्ठ सई सागर राणालाई निलम्बनका लागि प्रहरी मुख्यालयमा सिफारिस गरेको थियो।
प्रहरी मुख्यालयले वरिष्ठ सई सागर राणा, थापा मगर र सई यादवलाई मुख्यालयमा तानेपछि घटना सामसुम पार्न प्रहरी प्रधान कार्यालयले एआईजी उमा प्रसाद चतुर्वेदीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। तर, समितिले हालसम्म प्रतिवेदन सार्वजनिक गर्न नसक्दा संगठनको कामकारवाहीप्रति शंका उब्जिएको छ।
डीआईजी थपलियाले धनुषा प्रहरी मातहत खटिएका युनिट इन्चार्जहरूलाई अनावश्यक रूपमा तानेर दुःख दिन थालेपछि जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रमुख एसपी रुगमबहादुर कुँवरसँग समेत मनमुटाव भएको थियो। धनुषा प्रहरी प्रमुख एसपी कुँवर घुमुवाले भनेअनुसार काम नगरेकाले उनलाई स्पष्टीकरण सोधिएको थियो। त्यसबेला उनी दबाब सहन नसकेर अचानक बिरामी परेको र लामो समय बिदामा बसेको विषय पनि सामाजिक सञ्जालमा व्यापक चर्चा बनेको थियो। हाल उनको सरुवा भइसकेको छ।
मधेश प्रदेश प्रहरीभित्र यस्ता घटना अपवाद मात्र नभई क्रमशः बढ्दो प्रवृत्तिका रूपमा देखिन थालेको प्रहरी स्रोतको भनाइ छ। जेठको पहिलो साता सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण प्रभावकारी नभएको र चेन अफ कमाण्ड कमजोर भएको भन्दै रौतहटका एसपी सिताराम रिजाल तथा बाराका एसपी नरेन्द्र कुँवरसँग पनि डीआईजी थपलियाले स्पष्टीकरण सोधेका थिए। पछि दुवैलाई सचेत गराइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीको उच्च संख्या, अनुशासनमाथि प्रश्न
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा चेन अफ कमाण्ड उल्लंघन गरेको आरोपमा तीन जना प्रहरी निरीक्षकसहित ३२२ जना प्रहरी कर्मचारी विभागीय कारबाहीमा परेका छन्। चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ महिनासम्म पाँच जना एपीसहित २६८ जना प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गरिएको छ।
पछिल्ला वर्षहरूमा सीमावर्ती नाकाहरूबाट हुने तस्करी र त्यसमा प्रहरीको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता सम्बन्धी आरोपहरू बारम्बार सार्वजनिक भइरहेका छन्। सामाजिक सञ्जालमा भाइरल भएका अडियो तथा सामग्रीहरूले प्रहरी संगठनले आर्जन गरेको जनविश्वासलाई समेत प्रभावित पारेको देखिन्छ।
प्रहरी अधिकारीहरूका अनुसार माथिल्लो नेतृत्व र जिल्ला कमाण्डबीच पर्याप्त समन्वय नहुनु, व्यक्तिगत अहंकार तथा जिम्मेवारी निर्वाहमा देखिएको कमजोरीका कारण संगठनभित्र अनुशासन कमजोर बन्दै गएको छ।
प्रहरीमा ‘घुमुवा’ शब्द एक प्रकारको सूचना संकलन, अपराध अनुसन्धान तथा चोरी–तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संयन्त्रका रूपमा प्रयोग हुने भए पनि कमाण्डरहरूले घुमुवालाई आर्थिक लेनदेनमा प्रयोग गर्दा प्रहरीको साख खस्किँदै गएको नेपाल प्रहरीका पूर्व डीआईजी पिताम्बर अधिकारीले बताएका छन्।
सीमावर्ती जिल्लाहरूमा तस्करी र सेटिङको चर्चा बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर इमानदारीपूर्वक काम गरिरहेका प्रहरी कर्मचारीमाथि समेत परेको देखिन्छ।
मधेश प्रदेश प्रहरी अहिले यस्तै चुनौतीको सामना गरिरहेको देखिन्छ। सार्वजनिक रूपमा उठिरहेका आरोपहरूको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र संगठनभित्रको अनुशासन सुदृढ गर्न सकिए मात्र प्रहरी संगठनप्रतिको विश्वास पुनःस्थापित हुन सक्ने देखिन्छ।
यता तत्कालीन डीआईजी गोविन्द थपलियाले आफूलाई नियोजित रूपमा बदनाम गराउने प्रयास भएको बताउँदै आएका छन्। तर, विवाद र प्रश्नहरू भने अझै सेलाएका छैनन्। मधेश प्रहरीभित्रको चेन अफ कमाण्ड वास्तवमै बलियो छ कि कमजोर बन्दै गएको छ भन्ने प्रश्नको जवाफ अब संगठनको आगामी कार्यशैलीले दिनेछ।
प्रकाशित: १० असार २०८३ १०:४५ बुधबार



