सरकारी वेबसाइटहरूमा भद्रगोल तथ्याङ्क भएको पाइएको छ । कोशी प्रदेश सरकारको आधिकारिक पोर्टलमै कोशी प्रदेशको जनसंख्या अध्यावधिक नगरेको पाइएको हो ।
कोशी प्रदेश सरकारको आधिकारिक पोर्टलमा कोशी प्रदेशको कुल जनसंख्या कतै ४५ लाख ३४ हजार ९ सय ४३ लेखिएको छ भने त्यही पोर्टलमा कतै ४९ लाख ६१ हजार ४ सय १२ लेखिएको पाइएको छ । कोशी प्रदेश सरकारको पोर्टलमा मात्रै हैन विराटनगर महानगरपालिकाको आधिकारिक वेबसाइटमा पनि जनसंख्या सम्बन्धी तथ्याङ्क सही नराखेको पाइएको छ ।
विराटनगर महानगरपालिकाको वेबसाइटमा महानगरपालिकाको जनसंख्या २ लाख १४ हजार ६ सय ६३ लेखिएको छ। तर, राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार विराटनगर महानगरपालिकाको कुल जनसंख्या २ लाख ४३ हजार ९ सय २७ रहेको उल्लेख छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कोशी प्रदेशको कुल जनसंख्या ४९ लाख ६१ हजार ४ सय १२ रहेको छ । प्रदेश सरकार र स्थानीय तहहरूले आफ्नो वेबसाइटहरू समय, समयमा अध्यावधिक नगर्ने, अध्यावधिक गर्दा पनि कतै गर्ने कतै नगर्ने गरेका कारण आधिकारिक वेबसाइटहरूका तथ्यांकहरू समेत प्रयोग गर्दा ध्यान पु¥याउन र पुनः परीक्षण गर्न आवश्यक देखिएको छ । सरकारी निकायले आधिकारिक पोर्टल भनेर तथ्याङ्कहरू अध्यावधिक नगर्दा आम सर्वसाधारण र नीति निर्माताहरूलाई समेत अलमलमा पार्ने देखिएको छ ।
प्रकाशित: २७ असार २०८२ १८:१४ शुक्रबार



