समाज

काठमाडौंमा १० मिटर तल खस्यो बुलेट मोटरसाइकल, चालकको मृ`त्यु

काठमाडौंको चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन्।

चन्द्रागिरि नगरपालिका-८ स्थित एपीएफ एकेडेमी गेट काप्रावोट नजिकैको मोडमा मोटरसाइकल दुर्घटना भएको हो।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ बजे मकवानपुरबाट सतुङ्गलतर्फ आउँदै गरेको बा.प्र.०२-०२० प २७६६ नम्बरको बुलेट मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेको थियो।

कञ्चनपुरको बेलौरी बस्ने करिब २५ वर्षीय रमेश चौधरीले मोटरसाइकल चलाएका थिए। दुर्घटनामा चालक चौधरी र पछाडि सवार कञ्चनपुरको पुनर्वास नगरपालिका-६ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने करिब ४३ वर्षीय मेकबहादुर वाइबा घाइते भएका थिए।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग मातातीर्थबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुवै जनालाई उद्धार गरी उपचारका लागि सतुङ्गलस्थित एपीएफ अस्पताल पठाएको थियो।

उपचारका क्रममा चिकित्सकले साँझ ७ बजे मोटरसाइकल चालक चौधरीलाई मृत घोषणा गरेका हुन्। पछाडि सवार मेकबहादुर वाइबाको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेको मोटरसाइकल साँझ ७:३५ मिनेटमा घटनास्थलबाट निकालेर प्रहरी प्रभाग मातातीर्थमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०८३ २२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App