मकवानपुरको राक्सिराङ गाउँपालिकामा मनहरी खोलाले बगाएर बेपत्ता भएकी ६० वर्षीया महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ गाउँपालिका–५ बोटबारीस्थित मनहरी खोला तर्ने क्रममा कैलाश गाउँपालिका–७ डुम्बरेकी करिब ६० वर्षीया कान्छीमाया चेपाङलाई खोलाले बगाएको थियो।
माइतीघर राक्सिराङ गाउँपालिका–३ आउलेबाट आफ्नो घरतर्फ जाने क्रममा बुधबार साँझ करिब ७ः२० बजे खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको खबर प्राप्त भएपछि प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीले राक्सिराङ गाउँपालिकाको नगर प्रहरीसँग समन्वय गरी तत्काल खोज तथा उद्धार कार्य थालेको थियो। खोजीका क्रममा बिहीबार बिहान करिब ७ः१० बजे बगाएको स्थानदेखि करिब ५ किलोमिटर तल राक्सिराङ गाउँपालिका–५ ठाडेस्थित मनहरी खोलामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी चौकी चैनपुरबाट प्रहरी टोली पुगेको थियो भने मृतकका आफन्तसमेत घटनास्थलमा पुगेका छन्।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक मुचुल्काका लागि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक सूर्यप्रकाश भट्टको कमाण्डमा अनुसन्धान टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
प्रकाशित: १९ भाद्र २०८३ ०८:५७ शुक्रबार