समाज

सेनाको नियन्त्रणमा वीरगन्ज कारागार, भाग्ने १३ सय बढी कैदीको योजना विफल

वीरगन्ज कारागारका कैदीहरू जेल फोडेर भाग्न खोजेपछि तिनीहरूको योजना नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले विफल पारेका छन्।  

युवा आन्दोलनको मौकाको फाइदा उठाउँदै कारागारका कैदी बन्दीहरूले मंगलबार  रातिदेखि नै भाग्ने योजना बनाएपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले कारागार क्षेत्रलाई नियन्त्रणमा लिएर अश्रुग्यास र हवाई फायर गरेका छन्।  

वीरगन्ज कारागारमा करिब १३ सयभन्दा बढी कैदी बन्दीहरू जेल जीवन बिताइरहेका छन्। देशका अधिकांश ठाउँको कारागारबाट कैदी बन्दीहरू भागेजस्तै वीरगन्ज कारागारका कैदीहरू भाग्न खोजेका कारण तनाव उत्पन्न भएको थियो।  

विभिन्न मुद्दामा अभियुक्त ठहरिएर जेल जीवन बिताइरहेका कैदीहरू जेलबाट भाग्न खोजेपछि सेनासहितका सुरक्षाकर्मीले कारागारको सुरक्षा कडा बनाएपछि झडपको स्थिति बनेको पर्साका प्रहरी प्रमुख गौतम मिश्रले बताए।  

युवा आन्दोलनका कारण मन्त्री, मेयरको घरमा तोडफोड  

मंगलबार आन्दोलनकारीले वीरगन्जमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, खानेपानीमन्त्री प्रदीप यादव, पूर्वसंघीय मामिलामन्त्री राजकुमार गुप्ता, मधेसका पूर्वमुख्यमन्त्री लालबाबु राउत गदीको घर तोडफोड गर्नुका साथै आगजनी गरेका छन्।  

आन्दोलनकारीले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुङ्गटाको घरमा समेत तोडफोड गर्दै आगजनी गरेका हुन्। आगजनीका कारण घरभित्र रहेका सम्पूर्ण सामान जलेर ध्वस्त भएको छ।  

घरमा पार्किङ गरिएका चारपाङ्ग्रे गाडी र मोटरसाइकल समेत आन्दोलनकारीले आगो लगाएका थिए।  

यस्तै प्रदर्शनकारीहरूले वीरगन्ज महानगरपालिकाको कार्यालय, नेपाल टेलिकमको कार्यालय र आन्तरिक राजस्व कार्यालयमा पनि आगजनी गरेका हुन्। आगलागीका कारण कार्यालयभित्र रहेका कम्प्युटर, फर्निचर, कागजपत्रहरू सबै जलेर नष्ट भएका छन्।  

प्रकाशित: २५ भाद्र २०८२ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App