समाज

भोटेकोशी बाढी : पाँच हजार ५३ अझै सम्पर्कविहीन

रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीपछि हालसम्म एक हजार २९४ जनाको शव फेला परेको छ भने पाँच हजार ५३ जना अझै सम्पर्कविहीन रहेका छन्।

बाढीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ता भएकाको खोजी तथा उद्धारलाई तीव्र बनाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १४०, नुवाकोटमा १८४, धादिङमा ६७, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२१ र नवलपरासी पश्चिममा २१२ रहेका छन्। यसबाहेक विभिन्न स्थानबाट ३५९ मानव अंग समेत फेला परेका छन्।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुनेमध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्मको अद्यावधिक विवरणअनुसार करिब दुई हजार १३० जना, नुवाकोटबाट करिब दुई हजार ३४० जना र ५८३ जना विदेशी नागरिक रहेका छन्।

बेपत्ताको संख्या ठूलो रहेकाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको उद्धार अभियानबाट हालसम्म १३ हजार ९५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाले चार हजार १५७, नेपाल प्रहरीले चार हजार ६८ तथा सशस्त्र प्रहरी बलले संयुक्त रूपमा चार हजार ८७० जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ।

यस्तै, हालसम्म ९६ शवको सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ। बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म पाँच हजार ६६३ जनाको उपचार गरिएको प्रवक्ता महतले बताए।

विभिन्न अस्पतालमा ३१४ जना, नेपाली सेनाबाट तीन हजार २६६ जना र सशस्त्र प्रहरी बलबाट दुई हजार ८३ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। बाढी प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ३७ होल्डिङ सेन्टरमा चार हजार ६२७ जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित स्थानमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका जनाइएको छ।

भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन्। सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारलाई अझ तीव्र बनाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्रकाशित: २० भाद्र २०८३ ०६:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App