समाज

भोटेकोशी बाढी : मधेस प्रदेशका १६८ जना अझै सम्पर्कविहीन

भोटेकोशीमा आएको बाढीका कारण मधेश प्रदेशका १६८ जना अझै सम्पर्कविहीन रहेका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभु ढकालका अनुसार उपलब्ध पछिल्लो तथ्यांकअनुसार बाढीपछि प्रदेशभर १९९ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये ३० जना सम्पर्कमा आइसकेका छन् भने एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा नुवाकोट हाइड्रोपावरमा कार्यरत सप्तरीका २८ वर्षीय सन्तोष चौधरी रहेका छन् । उनको शव पहिचान गरी परिवारजनले बुझिसकेको प्रवक्ता ढकालले जानकारी दिए ।

प्रवक्ता ढकालका अनुसार हालसम्म सम्पर्कविहीन रहेकामध्ये पर्साका ३८ जना, बाराका २३ जना, रौतहटका १३ जना, सर्लाहीका १८ जना, महोत्तरीका १० जना, धनुषाका ७ जना, सिरहाका १२ जना र सप्तरीका ४७ जना रहेका छन् ।

यस्तै, बाढीपछि सम्पर्कविहीन भएका १९९ जनामध्ये हालसम्म सम्पर्कमा आएकामा पर्साका २ जना, बाराका २ जना, रौतहटका ६ जना, सर्लाहीका ३ जना, महोत्तरीका ७ जना, धनुषाका ७ जना, सिरहाका १ जना र सप्तरीका १ जना रहेका छन् ।

प्रवक्ता ढकालका अनुसार प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे जानकारी लिन दैनिक रूपमा प्रहरीको केन्द्रीय कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा परिवारजनसँग प्रत्यक्ष समन्वय गरिरहेको छ । साथै, सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा अवस्थाबारे अद्यावधिक विवरण संकलन गर्ने कार्यसमेत जारी रहेको उनले बताए ।

प्रकाशित: १८ भाद्र २०८३ २१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App