भक्तपुरको जगातीदेखि काठमाडौं रत्नपार्कसम्म चल्ने भक्तपुर–रत्नपार्क मेट्रो रेल सञ्चालनमा छलफल भएको छ।
काठमाडौं उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित, सहज र प्रभावकारी बनाउने उद्देश्यले प्रस्तावित भक्तपुरको जगातीदेखि –रत्नपार्कसम्म मेट्रो रेल सञ्चालनसम्बन्धी मंगलबार भक्तपुरमा छलफल गरिएको हो।
प्रस्तावित मेट्रो रेल प्रणालीले काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थापनमा पार्न सक्ने प्रभाव, यातायात सेवालाई सहज बनाउने सम्भावना तथा वातावरणीय पक्षलाई ध्यानमा राखेर प्रस्ताव अघि बढाउने विषयमा छलफल केन्द्रित थियो।
छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमा मेट्रो रेल सञ्चालन गर्ने योजना सकारात्मक भएको बताए। तथापि त्यसको सम्भाव्यता अध्ययन विस्तृत रूपमा गर्नुपर्ने आवश्यकता उनले औँल्याए।
उनले देशको ऋण भार ३० खर्ब रुपैयाँ पुगेको सन्दर्भ उल्लेख गर्दै यस्ता ठुला योजनाको बजेट व्यवस्थापन, खर्चको पारदर्शिता र योजना सम्पन्न हुने समय सीमा स्पष्ट हुनुपर्ने आवश्यकता औँल्याए।
‘मेट्रो रेल योजना देशका कुन–कुन स्थानमा सञ्चालन गर्ने, त्यसबाट आउन सक्ने सम्भावित समस्या के–के हुन् र तिनको समाधान कसरी गर्ने भन्ने विषयमा समेत अध्ययन गर्नुपर्छ’, उनले भने।
लामो दूरीमा मेट्रो रेल सञ्चालन गर्ने विषयमा पनि स्पष्ट योजना आवश्यक रहेको उनको भनाइ थियो।
प्रमुख प्रजापतिले योजनालाई अघि बढाउनुअघि संघ, प्रदेश र स्थानीय सरकार, सरोकारवाला निकायबिच छलफल गर्नुपर्ने बताउँदै आपसी सहमति र समन्वयको क्षेत्र र भूमिका स्पष्ट पार्नुपर्ने उल्लेख गरे।
रत्नपार्कदेखि भक्तपुरसम्म ११ वटा स्टेसन प्रस्ताव गरिएको र भक्तपुरमा मात्रै तीन वटा स्टेसन राख्ने योजनाबारे चर्चा गर्दै उनले छोटो दूरीमा धेरै स्टेसन आवश्यक पर्ने वा नपर्ने विषयमा पनि अध्ययन गर्नुपर्ने धारणा राखे।
छलफलमा उपस्थित भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले प्रस्तावित भक्तपुर–रत्नपार्क मेट्रो रेल योजनाबारे विभिन्न जिज्ञासा राखेका थिए।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व योजनाबारे विस्तृत छलफल आवश्यक रहेको औँल्याए। छलफलअघि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का विज्ञ टोलीका सदस्य हायातो कोबायासीले परियोजनाबारे संक्षिप्त जानकारी दिएका थिए।
वातावरणविद् अध्ययन टोलीका लोकेश सापकोटाले परियोजनासम्बन्धी प्रस्तुतीकरण गरेका थिए भने समाजशास्त्रीय अध्ययन टोलीका चन्द्रकान्त लौडारी स्वागत मन्तव्य राखेका थिए।
प्रकाशित: १७ कार्तिक २०८३ १८:१६ मंगलबार

-600x400.jpg)

