समाज

मुख्यमन्त्री होस् वा जोसुकै, पाँच वर्षदेखि काम नगर्नेलाई छोडिन्न, आजै ठेक्का तोड्नुस्: पूर्वाधारमन्त्री लम्साल

गुल्मी अस्पतालको नयाँ भवन निर्माण पाँच वर्ष पुग्न लाग्दासमेत सम्पन्न नभएपछि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले तत्काल ठेक्का रद्द गरी नयाँ प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको भवनको काम पटक–पटक म्याद थप्दा पनि पूरा नभएपछि स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले यस्तो निर्देशन दिएका हुन्।

अनुगमनका क्रममा उनले भने, ‘आजै ठेक्का तोडौँ। काम गरेको भुक्तानी दिएर आजै टुङ्गो लगाउनुस्।’

त्यहाँ उपस्थित पत्रकारले उक्त ठेक्का बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँसँग जोडिएको स्वच्छन्द–बानियाँ जेभीले लिएको भन्दै ठेक्का तोड्न सकिनेबारे प्रश्न गरेका थिए। जवाफमा मन्त्री लम्सालले ‘मुख्यमन्त्री होस् वा जोसुकै होस्, पाँच वर्षसम्म आयोजना अलपत्र पार्नेलाई अब कुर्न सकिँदैन’ भन्दै ठेक्का तोडेर नयाँ प्रक्रियामा लैजान निर्देशन दिए।

मन्त्री लम्सालले आफूलाई ठेकेदार को हो भन्ने विषयसँग कुनै सरोकार नरहेको भन्दै निर्माण निर्धारित समयमै सम्पन्न हुनुपर्नेमा आफू स्पष्ट रहेको बताए। निर्माणमा भएको ढिलाइ कुनै हालतमा स्वीकार्य नहुने उनको भनाइ थियो।

२०७८ असार १८ गते सम्झौता भएको भवन २०८० असार १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। पाँच तले भवन निर्माणको सम्झौता लागत २५ करोड ९५ लाख ६४ हजार २०३ रुपैयाँ रहेको छ। हालसम्म भवनको भौतिक प्रगति ९२ प्रतिशतभन्दा बढी पुगे पनि करिब ६ करोड रुपैयाँ बराबरको काम अझै बाँकी रहेको बताइएको छ।

भवनमा अहिले पेन्टिङ, वायरिङ र आल्मुनियम जडानलगायतका काम भइरहेका छन्। आयोजनाका लागि भारत सरकारको आर्थिक सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको आयोजना कार्यान्वयन इकाई (भवन)मार्फत रकम उपलब्ध गराइएको हो।

नयाँ भवन निर्माणमा ढिलाइ हुँदा गुल्मी अस्पताल अझै पुरानै साँघुरो भवनबाट सेवा सञ्चालन गर्न बाध्य छ। सीमित शय्या, वार्ड तथा आवश्यक पूर्वाधारको अभावमा बिरामी र स्वास्थ्यकर्मी दुवैले समस्या भोग्दै आएका छन्।

गुल्मी अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालका अनुसार जिल्लाका विभिन्न स्थानीय तहसँगै छिमेकी जिल्लाबाट समेत दैनिक ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्। तर पुरानो भवनमा पर्याप्त स्थान नहुँदा प्रभावकारी स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भइरहेको छ।

नयाँ भवन सञ्चालनमा आएपछि व्यवस्थित ओपिडी, आपत्कालीन, प्रसूति, शल्यक्रिया, प्रयोगशाला, एक्स–रे तथा विशेषज्ञ सेवा विस्तार गर्ने योजना छ। थप शय्याको व्यवस्थासँगै आइसियु तथा मेडिकल, सर्जिकल र बाल उपचारका लागि छुट्टाछुट्टै कक्ष सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।

तर भवन निर्माणमा भएको ढिलाइका कारण यी सेवा विस्तारका योजना लामो समयदेखि प्रभावित हुँदै आएका छन्।

अस्पताल विकास समिति अध्यक्ष राजेन्द्र पाण्डेले जिल्लावासीले लामो समयदेखि सुविधा सम्पन्न अस्पताल भवनको प्रतीक्षा गरिरहेको भन्दै अब निर्माणमा थप ढिलाइ गर्न नहुने बताए। उनका अनुसार भवन निर्माणमा ढिलाइ हुँदा राज्यको ठूलो लगानी उपयोगविहीन बन्नुका साथै नागरिकले समयमै पाउनुपर्ने स्वास्थ्य सेवासमेत प्रभावित भएको छ।

गुल्मी अस्पताल २०७१ सालमै ५० शय्यामा स्तरोन्नति भए पनि आवश्यक भौतिक पूर्वाधारको अभावमा त्यसअनुसार सेवा विस्तार पूर्ण रूपमा हुन सकेको छैन।

प्रकाशित: २४ श्रावण २०८३ २१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App