असोज १८ र १९ को बाढीपहिरोबाट इलाममा झन्डै १२ अर्ब रुपैयाँको क्षति भएको अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तह र विषयगत कार्यालयको समन्वयमा संकलन गरेको तथ्यांकअनुसार ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार रुपैयाँको क्षति विवरण आएको जनाएको छ ।
यो तथ्यांक सोमबार सार्वजनिक गरिएको छ । डिभिजन सडक कार्यालयले ६ अर्ब ९६ करोड ४५ लाख, पूर्वाधार विकास कार्यालयले ३ अर्ब २३ करोड ६५ लाख, नेपाल विद्युत् प्राधिकरणले २ करोड ४७ लाख ३५ हजार र जलस्रोत तथा सिँचाइ विकास डिभिजनले ३२ करोड ९२ लाख ५० हजार रुपैयाँको क्षति भएको विवरण दिएका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले ४ करोड ३३ लाख ३० हजार, खानेपानी तथा ढल व्यवस्थापन कार्यालयको इलाम फिल्ड कार्यालयले २८ करोड ७५ लाख, खानेपानी तथा सरसफाइ डिभिजन (झापा)ले २८ करोड १ लाख रुपैयाँको क्षति भएको जनाएका छन् ।
कृषि ज्ञान केन्द्रले २७ करोड ४९ लाख ९५ हजार, राष्ट्रिय चिया तथा कफी विकास बोर्डअन्तर्गत मंगलबारे चिया विस्तार आयोजनाले ४ करोड ७५ लाख, नेपाल टेलिकमले ५ लाख ८ र झापास्थित सिँचाइ तथा जलस्रोत आयोजनाले ३२ करोड ९० लाख रुपैयाँको क्षति भएकाले तथ्यांक आएको समितिले जनाएको छ । समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले विवरण संकलनको काम अझै पनि जारी नै रहेको जानकारी दिइन् । ‘यो तथ्यांक पालिकाको कतिपय तथ्यांकसँग सामान्य मेल नखान पनि सक्छ तर एकीकृत गरिनेछ,’ उनले भनिन्, ‘कतिपय तथ्यांक संकलन हुन बाँकी छ ।’
असोज १८ र १९ को बाढीपहिरोमा ३९ जनाको मृत्यु भएको थियो भने ८ जना घाइतेको उपचार खर्च जिल्ला प्रशासन कार्यालयले भुक्तान गरेको छ । घाइतेको उपचारवापत् १४ लाख ८९ हजार रुपैयाँ खर्च भएको प्रशासनले जनाएको छ ।
समितिको बैठकले मेची राजमार्गको राजदुवाली खण्डमा पटक–पटक पहिरो गइ सवारी साधन सञ्चालनमा अवरोध भइरहेकाले यसको भौगर्भिक अध्ययन गरी दीर्घकालीन समाधान खोज्न र विपद् संकटग्रस्त घोषित इलाममै प्राधिकरणको एउटा युनिट स्थापना गर्न सिफारिस गर्ने निर्णयसमेत गरेको छ । दमक–चिसापानी सडकको स्तरोन्नतिका लागि यथाशीघ्र ठेक्का व्यवस्थापन गर्न गृहमन्त्रालयमार्फत् सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
जिल्लामा बाढीपहिरोले विस्थापित ७ स्थानीय तहका २ सय ६० परिवारलाई अस्थायी आवास बनाउन पहिलो किस्ता (२५ हजार) रुपैयाँ उपलब्ध गराउन प्राधिकरणमा पत्राचार गर्ने निर्णय पनि गरिएको समितिले जनाएको छ । सूर्योदय नगरमा ४७, माईमा १९, इलाममा ८०, देउमाई नगरमा ६५ तथा सन्दकपुर, माइजोगमाई र माङ्सेबुङ गाउँपालिकामा क्रमसः ३७, २ र १० अस्थायी आवास आवश्यक रहेको विवरण आएको छ । विवरण आउन बाँकी संख्या पनि अनुमोदन गर्नेगरी निर्णय हुने समितिले जनाएको छ ।
असोज १८ र १९ को बाढीपहिरोमा परी इलाममा ३९ जनाको मृत्यु भएका थियो भने १ जना बेपत्ता छन् । ३ सय ६५ घरमा पूर्ण र ९ सय ४० घरमा आंशिक क्षति भएको समितिको तथ्यांक छ । ७ सय ११ परिवार विस्थापित भएकामा ७ सय परिवार आफन्तकहाँ र बाँकी सामुदायिक भवनमा आश्रय लिएर बसेका छन् ।
प्रकाशित: १७ कार्तिक २०८२ २१:४६ सोमबार