बाढीपहिरो प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले हवाई साधनमार्फत हालसम्म ४ हजार १९५ जनाको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये ३ हजार ९१२ जना नेपाली र २८३ जना विदेशी रहेका छन् ।
नेपाली सेनाका अनुसार माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट–३ टनेलमा खोजीका क्रममा छडको जालीमा अल्झिएको अवस्थामा फेला परेका छ शव बाहिर निकालिएपछि थप सात शव फेला परेका छन् । पछिल्लो खोजीमा ती सात शव पनि बाहिर निकालिएको सेनाले जनाएको छ ।
टनेलमा खोजी कार्य जारी रहेको छ । त्रिशूली–३ए को टनेल तथा पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी गरिरहेको छ । त्रिशूली–३बीको पावर हाउस क्षेत्रमा ३ एक्स्काभेटर र लोडर प्रयोग गरी उत्खनन गरिए पनि केही फेला नपरेको सेनाले जनाएको छ ।
रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायत क्षेत्रमा बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी भइरहेको छ ।
सेनाले साँघुरा टनेलको रेकी, प्रभावित क्षेत्रको खोज तथा मूल्याङ्कनसँगै सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम स्थानमा ड्रोनमार्फत राहत सामग्रीसमेत पुर्याइरहेको छ । सेनाको ड्रोनबाट नुवाकोट र रसुवाका विभिन्न स्थानमा हालसम्म ३० हजार २७ किलो राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा खटिएका छन् । उनीहरूले खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा समन्वयात्मक रूपमा काम गरिरहेका छन् ।
बाढीपीडित परिवारका धार्मिक संस्कार, श्रद्धाञ्जली तथा भावनात्मक कार्यका लागि आवश्यक उपकरण ढुवानी र राहत वितरणमा समेत सेनाले सहयोग गरिरहेको जनाएको छ ।
त्रिशूली र धुन्चेमा सेनाले स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आज ६ जनाले स्वास्थ्य सेवा लिएका छन् । हालसम्म त्यस्ता सेवाबाट ३ हजार ९९६ जना लाभान्वित भएका छन् ।
बाढीका कारण भासिएर अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–३ स्थित शीतल बजारमा सडक खुलाउने काम भइरहेको छ । बेत्रावती नदीमा अस्थायी पुल निर्माणका लागि पनि नेपाली सेनासहित अन्य सुरक्षा फौज खटिएका छन् ।
प्रकाशित: २ आश्विन २०८३ २१:५७ शुक्रबार



