समाज

माटोको अम्लीयपना कम गर्न कृषि चुन बाँडियो

कोशी प्रदेशका १४ वटै  जिल्लाको  माटोमा अम्लीयपना वर्षेनी बढ्दो क्रममा रहेपछि यसलाई न्यूनीकरण गर्न शुक्रबार मोरङ् रतुवामाईका ७२ जनालाई कृषि चुन प्रदान गरिएको छ ।  

प्रदेशस्तरीय माटो परीक्षण प्रयोगशाला झुम्का सुनसरीले किसानलाई कृषि चुन प्रदान गरेको हो । जनही किसानलाई ५० केजीका दरले कृषि चुन प्रदान गरेको माटो परीक्षण प्रयोगशालाका सहायक माटो विज्ञ सन्तोष कट्टेलले बताए । उनका अनुसार रतुवाईमा पछिल्लो एक वर्षमा १०५ वटा माटोको नमूना परीक्षण गर्दा धेरैजसोकोमा अम्लीयपना बढी देखा परेपछि नमूनाको रुपमा कृषि चुन प्रदान गरिएको हो ।  

माटो परीक्षण प्रयोगशालाले पछिल्लो एक वर्षमा १४ वटै जिल्लाको माटो परीक्षणका आधारमा  नौं हजार ७१२ वटा नमूना माटो परीक्षण गर्दा ८५.५ प्रतिशत माटो अम्लीयपन भेटिएको  थियो । अहिले तत्काल किसानलाई जानकारी नभएता पनि भविष्यमा यसले ठूलै संकट निम्तिने भएकाले गर्दा बेलैमा सचेत गर्न कृषि चुन प्रयोग गर्न अभियान सञ्चालन गर्ने हुँदा नमूनाको रुपमा किसानलाई कृषि चुन प्रदान गरिएको माटो परीक्षण प्रयोगशाला झुम्का प्रमुख दिगम्बर यादवले बताए ।  

कृषि चुन प्रदानका क्रममा रतुवामाईका नगरप्रमुख नागेश्वरप्रसाद सिंह गनगाईंले कृषि क्षेत्रको विकासका लागि सवै क्षेत्रको सहयोग आवश्यक भएको बताए ।  

माटो परीक्षण नतिजाको आधारमा झापामा ९३.३ प्रतिशत, मोरङमा ७७.७ प्रतिशत, सुनसरीमा ६८.७ प्रतिशत, उदयपुरमा ८३.९ प्रतिशत, खोटाङमा ७८.८ प्रतिशत, ओखलढुङ्गामा ७५.८ प्रतिशत र  सोलुखुम्बुमा ९७.३ प्रतिशतमा अम्लीययन भेटिएको  छ । यस्तै, भोजपुरमा ८९ प्रतिशत, संखुवासभामा ९५ प्रतिशत, धनकुटामा ८८.८ प्रतिशत, तेह्रथुममा ८५.४ प्रतिशत पाँचथरमा ७८.५ प्रतिशत, इलाममा ६३.६ प्रतिशत र ताप्लेजुङ्मा ९६ प्रतिशत माटोको नमूनामा अम्लीयपना रहेको पाइएको  छ ।  

प्रदेशभरीको माटो परीक्षण गर्दा १३.१ प्रतिशत माटो तटस्थ र १.४ प्रतिशत माटो भने क्षारीय रहेको छ ।

प्रकाशित: १९ मंसिर २०८२ २०:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App