काठमाडौंको शंखमुलस्थित एक होस्टेलमा धारिलो हतियार प्रयोग गरी कुटपिट हुँदा २२ वर्षीय युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय बसन्त कालाथोकी शंखमुलस्थित भ्याली वाइज होस्टेलमा बस्दै आएका थिए। शुक्रबार बिहान करिब १०ः१० बजे सोही होस्टेलमा बस्ने बारा कलैया उपमहानगरपालिका–३ का २१ वर्षीय प्रमित पटेलले धारिलो हतियार प्रयोग गरी कालाथोकीमाथि कुटपिट गरेको प्रहरीले उल्लेख गरेको छ।
घाइते कालाथोकीलाई उपचारका लागि काठमाडौंको मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा सोही दिन दिउँसो १२ः१२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि कर्तव्य ज्यान मुद्दाको अनुसन्धान अघि बढाइएको छ। घटनामा संलग्न रहेको आरोप लागेका प्रमित पटेल फरार रहेको र उनी बल्खु हुँदै हेटौंडातर्फ गएको सूचना प्राप्त भएपछि काठमाडौं प्रहरीले मकवानपुर प्रहरीलाई पक्राउका लागि पत्राचार गरेको छ।
काठमाडौं प्रहरीको अपराध अनुसन्धान तथा कारबाही शाखाले इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई आरोपीको खोजी तथा पक्राउका लागि अनुरोध गरेको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित: ५ भाद्र २०८३ १६:४९ शुक्रबार
-600x400.jpg)

-600x400.jpg)
