बाराको फेटा गाउँपालिका–३ मा निर्माण गरिएको आधारभूत अस्पतालको उद्घाटन गर्न पुगेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद मीक्षा बास्कोटाको कार्यक्रममा विवाद हुँदा प्रहरीको गोली लागेर एक जना युवा गम्भीर घाइते भएका छन्।
स्थानीय धर्मेन्द्र पासवानका छोरा १८ वर्षीय अदित पासवान गम्भीर घाइते भएको बारा प्रहरीले जनाएको छ। पेटमा गोली लागेका उनको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय प्रसौनी गण्डकका इन्चार्ज प्रहरी निरीक्षक सुमन लामाले बताएका छन्। कार्यक्रमस्थलमा टेन्ट र कुर्सी मिलाउने क्रममा पासवानलाई गोली लागेको हो।
फेटा गाउँपालिका प्रमुख रुस्तम अन्सारीले बिनातयारी अस्पतालको शिलालेखमा नाम लेखाउनका लागि रास्वपा सांसदलाई बोलाएर अस्पताल उद्घाटन गर्न खोजिएको भन्दै जेनजी समूह विरोधमा उत्रिएको थियो। स्वास्थ्य उपकरण, चिकित्सक लगायत जनशक्ति व्यवस्थापन गरेर मात्रै अस्पताल उद्घाटन गर्न माग गर्दै जेनजीहरूले प्रदर्शन गरेका थिए। उनीहरूले अस्पतालको शिलालेख तोडफोड गर्न सुरु गरेको बताइएको छ।
अस्पतालको शिलालेख तोडफोड गर्नुका साथै प्रहरीलाई घेरा हालेर ढुंगा र इँटाका टुक्राले हान्न थालेपछि बाध्य भएर गोली चलाइएको प्रहरी निरीक्षक सुमन लामाले बताएका छन्। जेनजीहरूको विरोध प्रदर्शन सामान्य रहे पनि सुरुमा घटनास्थल पुगेको प्रहरी निरीक्षक सुमन लामाको टोलीलाई देखेर गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीका नजिकका व्यक्तिहरू प्रदर्शनकारीसँग झडप गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो। निर्दोषमाथि गोली चलाउन लगाउने प्रहरी निरीक्षक सुमन लामालाई निलम्बन गरी कारबाही गर्नसमेत पीडितहरूले माग गरेका छन्।
१५ शय्याको अस्पताल उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो।
गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले अधुरो अस्पताल उद्घाटन गर्न नहुने भन्दै प्रदर्शन गर्ने क्रममा अस्पताल परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद चर्किएको थियो।
प्रहरीले लाठीचार्ज र गोली चलाएपछि आक्रोशित स्थानीयले अस्पतालमा तोडफोड गर्दै १० वटा मोटरसाइकलमा आगजनी गरेका छन्। प्रदर्शनकारीको आक्रमणमा परी प्रहरीतर्फ पनि घाइते भएका छन्।
तत्कालीन विवेकशील नेपाली पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी अहिले रास्वपासँग नजिक बनेका छन्।
प्रकाशित: १४ कार्तिक २०८३ १४:०७ शनिबार



