समाज

‘पाथीभरा माता’ भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाएको आरोपमा एक युवक पक्राउ

सामाजिक सञ्जालमा आफूलाई ‘पाथीभरा माता’ भन्दै भ्रमपूर्ण र विवादस्पद सामग्री सार्वजनिक गरेको आरोपमा एक युवकलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। 

आम नागरिकमा भ्रम सिर्जना गर्ने, धार्मिक आस्थाप्रतिको विश्वासमा आँच पुर्‍याउने र सामाजिक सद्भावमा नकारात्मक असर पार्ने किसिमका गतिविधि गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-३ बस्ने अन्दाजी २४ वर्षीय समिर थापा रहेका छन्, जसले आफूलाई ‘पाथीभरा माता’ भनी चिनाउने गर्दथे। उनलाई बुधबार राति अन्दाजी ८:३० बजेको समयमा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

आरोपीले सामाजिक सञ्जालमार्फत विभिन्न भ्रमपूर्ण भिडियो तथा फोटोहरू प्रसारित गरी समाजमा अनावश्यक विवाद उत्पन्न गराउने खालका गतिविधि गरेका थिए। हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनलाई कार्यालयमा ल्याई थप अनुसन्धान कार्य अगाडि बढाइएको जनाएको छ।

प्रकाशित: १३ श्रावण २०८३ २३:१४ बुधबार