विशेषगरि राष्ट्र प्रमुख र प्रधानमन्त्री लगायत देशका विशिष्ट व्यक्तिहरुलाई दशैमा टिकासँगै जमरा लगाउँनका लागि दशैँघरमा वर्षेनी जमरा रोप्ने गरिन्छ। हनुमानढोका दरबार हेरचाह समितिको राष्ट्रिय पूजा पर्व शाखाका नासू मिठाराम पुडासैनीले दशैघरमा सधैको रितिअनुसार जमरा राखिएको नागरिकन्युजलाई जानकारी दिए।
'राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिका लागि यहाँबाट जमरा पठाउँने गरिन्छ,' उनले भने, 'राष्ट्रपति बाहेक विशिष्ट व्यक्तिका लागि लिन आउँनेलाई जमरा पठाइदिन्छौं।' उनले भने ‘सो जमरा विशेषगरि देशका अध्यक्ष तथा राष्ट्रपतिका लागि उमार्ने गरिन्छ। आज यहाँ राखिएको जमरा दसैंमा हामी नै राष्ट्रपति भवन पुगेर उहाँलाई टिकासँगै लगाइदिन्छौं, राजा हुँदा राजालाई यस्तो सम्मान मिल्थ्यो।'
हिन्दु धर्मालम्बीहरुले यहि समयमै बुधबार देशभरमा घरघरमा जमरा राखेका छन्। घरघरमा परिवारको संकल्प गरेर राखिने जमरा दशैघरमा भने देशको लागि संकल्प गरेर राख्ने चलन छ।
बाजागाजा सहित बोका बली दिएर जमरा राखिएको थियो। पञ्चाङ्ग समितिले दशैलाई टिकाको शूभ साइत कात्तिक ५ गते बिहान १० बजेर ५५ मिनेट निकालिसकेको छ।
बुधबारदेखि नै दशै सुरु हुने भएकाले कात्तिक ५ गते बिहान १० बजेर ४५ मिनेट जाँदासम्म नवमी सकेपछि दशमी तिथिको प्रारम्भ हुने समितिका सदस्य सचिव सूर्य ढुंगेलले जानकारी दिए।
'नवमी र दशमी एकै दिन परेका कारण १०ः४५ मा देबी विर्सजन सकेपछि दशमी प्रारम्भ हुन्छ,' उनले भने, 'सोही दिन बिहान १०ः५५ बजे बाहेक दिनभर टिका लगाउन राम्रो साइत रहेको छ। त्यसैले साइतमै भर पर्नु पर्दैन ।'

तस्विरः दिपेश श्रेष्ठ
प्रकाशित: २६ आश्विन २०७२ ०२:५७ मंगलबार



