सुनसरीको इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल एक-आपसमा ठोक्किँदा ७ वर्षीया एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन्।
इनरुवा नगरपालिका-०५ बलाहास्थित भित्री सडक-खण्डमा बुधबार साँझ करिब ५ बजे उक्त दुर्घटना भएको हो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको प्र.१-०२-०५५ प १२९८ नम्बरको स्कुटर र सोही दिशाबाट आउँदै गरेको साइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा स्कुटर चालक, मोटरसाइकलमा सवार तीन जना र साइकलयात्री गरी कुल ६ जना घाइते भएका थिए।
गम्भीर घाइते भएकी स्कुटरको पछाडि सवार सुनसरीको इनरुवा नगरपालिका-०९ बस्ने सन्जु कुमार सरदारकी ७ वर्षीया छोरी रिदिमा सरदारलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो। उनलाई उपचारकै क्रममा साँझ ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ।
घाइते हुनेहरूमा स्कुटर चालक इनरुवा नगरपालिका-०७ बस्ने अन्दाजी ३० वर्षीय सुजन चौधरी, मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका-०३ बस्ने अन्दाजी २२ वर्षीय सागर सरदार रहेका छन्।
त्यस्तै मोटरसाइकलको पछाडि सवार सोही स्थानका अन्दाजी २४ वर्षीय अभिनष सरदार र ११ वर्षीय आयुष सरदार तथा इनरुवा नगरपालिका-०५ बलाहा बस्ने अन्दाजी ४७ वर्षीय साइकलयात्री इन्द्रजित मण्डल घाइते भएका छन्।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित: २५ कार्तिक २०८३ २०:४१ बुधबार



