समाज

उच्च अदालत नेपालगञ्ज इजलासबाट ६२.६० प्रतिशत मुद्दा फर्छ्योट

शुक्रबार आयोजित पत्रकार भेटघाटमा मुद्दा फर्छ्योटसम्बन्धी विवरण सार्वजनिक गर्दै मुख्य न्यायाधीश बामदेव ज्ञवाली। तस्बिर : अर्जुन ओली/नागरिक

उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२/८३ मा ६२.६० प्रतिशत मुद्दा फर्छ्योट गरेको छ। कुल २ हजार १ सय ६३ मुद्दामध्ये लगतका आधारमा १ हजार ३ सय ५४ वटा मुद्दा फर्छ्योट गरिएको हो।

अदालतले शुक्रबार नेपालगञ्जमा पत्रकार भेटघाट गरी मुद्दा फर्छ्योटसम्बन्धी विवरण सार्वजनिक गरेको हो। आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म अदालतमा १८ महिना पुगेका मुद्दा १५ वटा मात्र बाँकी रहेका छन्। त्यस्तै, दुई वर्ष नाघेका मुद्दा शून्य मा झारिएको अदालतले जनाएको छ।

पत्रकार भेटघाटमा अदालतका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले आर्थिक वर्ष २०८२/८३ मा लगतका आधारमा ६२.६० प्रतिशत मुद्दा फर्छ्योट भए पनि लक्ष्यका आधारमा ७७.७० प्रतिशत मुद्दा फर्छ्योट गर्न सफल भएको बताए।

उक्त आर्थिक वर्षमा अदालतले ७० प्रतिशत अर्थात् १ हजार ७ सय ४३ वटा मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखेको थियो। अदालतको वार्षिक अनुमानित लगत संख्या २ हजार ४ सय ९० रहेको थियो भने ६ सय ४२ वटा मुद्दा जिम्मेवारी सरेर आएका थिए।

‘जेन–जी आन्दोलनका कारण भौतिक पूर्वाधार र मिसिलमा समस्या हुँदाहुँदै पनि यति धेरै मुद्दा फर्छ्योट हुनु ठूलो उपलब्धि हो,’ मुख्य न्यायाधीश ज्ञवालीले भने। जेन–जी आन्दोलनका क्रममा अदालतको भौतिक संरचना र मिसिलमा भएको क्षतिका कारण गत वर्षको तुलनामा केही कम मुद्दा फर्छ्योट भएको उनले स्पष्ट पारे।

ज्ञवालीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल २ हजार ६ सय ४६ मुद्दामध्ये २ हजार ४ वटा अर्थात् ७५.७४ प्रतिशत मुद्दा फर्छ्योट भएका थिए। त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा कुल २ हजार ७ सय ८ मुद्दामध्ये १ हजार ९ सय ३४ वटा अर्थात् ७१.४१ प्रतिशत मुद्दा फर्छ्योट भएको अदालतले जनाएको छ।

जेन–जी आन्दोलनका क्रममा भएको आगजनीका कारण अदालतका इजलास कक्षहरू अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। मुख्य न्यायाधीश ज्ञवालीका अनुसार तीन वटा इजलास कक्ष मर्मतपछि सञ्चालनमा आएका छन् भने बजेट अभावका कारण अझै दुई वटा कक्ष मर्मत हुन नसकी बन्द अवस्थामा रहेका छन्।

‘आगजनीबाट जलेका मिसिलका कारण मुद्दा फर्छ्योट गर्न केही कठिनाइ भयो। तर पनि हामीले अदालतको सेवा निरन्तर सञ्चालन गर्दै आएका छौँ,’ ज्ञवालीले भने।

पत्रकार भेटघाटमा न्यायाधीश मुनेन्द्र अवस्थी, सुकुन्तला घिमिरे र कौशलचन्द्र सुवेदी, निमित्त रजिस्ट्रार गम्भीर रानामगर, सूचना अधिकारी बलबहादुर विष्ट, शाखा अधिकृत अमृता केसीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १ श्रावण २०८३ २०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App