समाज

बाटुली पोखरीमा तीन प्रजाति जलचरका ४४० गुँड

चितवनको बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनअन्तर्गतको बाटुली पोखरी र कुमाल तालमा जलचर प्रजातीका चराको गुँड गणना गरिएको छ।

गणनाका क्रममा बाटुली पोखरीमा ४४० वटा र कुमाल तालमा १५ वटा गुढ भेटिएका छन्।

नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु बिडारीका अनुसार बाटुली पोखरीमा डाटर जातका पाँच वटा, स्वेतकण्ठ गरुडका दुई वटा र घुँङ्गीफोर गरुडका ४३३ गुँड भेटिएको छ। यस्तै कुमाल तालमा भेटिएका सबै गुढ घुँङ्गीफोर गरुडको रहेका छन्।

उनका अनुसार पाटुली पोखरीमा पानीको सतह भन्दा तीन मिटरमाथि देखि ३० मिटर माथिसम्म गुँडहरु अवस्थामा भेटिएको हो। 

उनले भने, ‘बाटुली पोखरीमा रहेका ९७ वटा रुखमा गरिएको गुँड गणनामा ती गुँड देखिएका हुन्।’

भरतपुर महानगरपालिका–१३ स्थित बाटुली पोखरीमा गुँड गणनाका लागि वर्ड एजुकेसन सोसाइटी, नेपाल पन्छीविद् सङ्घ र नेचर गाइड एसोसियसनका ४२ जना परिचालन गरिएको थियो।

पोखरीलाई चार ब्लकमा विभाजन गरेर गुँड गणना गरिएको उनले जानकारी दिए। एउटा व्लकमा १० देखि १२ जनाका दरले परिचालन गरी शनिबार गणना गरिएको हो।

पोखरीमा ४३३ वटा गुँड फेला परेपछि पोखरी गरूड प्रजातिको महत्त्वपूर्ण प्रजननस्थलका रुपमा पुष्टि गरिएको उनले बताए।

बाटुली पोखरी बरन्डाभार जैविक मार्ग, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा अन्तरराष्ट्रिय महत्वको बिसहजारी तथा आसपासका तालहरु (रामसार क्षेत्र) अन्तर्गत पर्दछन्।

घुँङ्गीफोर बचेरा कोरल्ने समयमा एकै स्थानमा जम्मा भएर सामूहिक रुपमा बच्चा कोरलेर हुर्काउने गर्दछन्।

बाटुलीपोखरीमा विगत चार वर्षदेखि यी चराहरुले गुँड लगाएर बच्चा हुर्काउँदै आएको उनले बताए।

नेपालमा ९०२ प्रजातिका चरा पाइने गरेकामा चितवनमा ६६७ प्रजाति रहेको तथ्याङ्क छ।

प्रकाशित: १० श्रावण २०८३ १७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App